कृत्रिम वौद्धिकता, पुस्तक, प्रविधि र शिक्षामा पाकिस्तानी दूतावासको पहल

कृत्रिम वौद्धिकता, पुस्तक, प्रविधि र शिक्षामा पाकिस्तानी दूतावासको पहल

काठमाडौंस्थित पाकिस्तानी दूतावासमा यो वर्षको निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विजयी विद्यार्थीलाई नगद तथा पदकसहित पुरस्कृत गरिएको जनाएको छ । 

यो वर्ष ‘कृत्रिम वौद्धिकता र मानव जातिको भविष्य’ विषयमा निबन्ध लेखन प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा विश्व निकेतन माध्यमिक विद्यालयका प्रतीन पोखरेल प्रथम, आयुष शाह द्वितीय र सेन्ट जोसेफ इङ्लिस एकेडेमीका सञ्जोक मगर तृतीय भएका छन् । 

उनीहरुलाई पदक, स्मृति चिन्ह र नगदसहित पुरस्कृत गरिनुका साथै सहभागी अन्य १० जना विद्यार्थीलाई पनि विशेष नगद पुरस्कार प्रदान गरिएको दूतावासले जनाएको छ । यस्तै, ‘पुस्तक, प्रविधि र शिक्षाको भविष्य’ विषय वक्तृत्वकला प्रतियोगितामा उच्च माध्यमिक तथा विश्वविद्यालय तहका विद्यार्थीहरुले आफ्नो धारणा प्रस्तुत गरेका छन् । 

प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पोखरास्थित वन विज्ञान संस्थानकी प्राप्ति लम्साल प्रथम, काठमाडौंको शिवपुरी कलेजकी रीता काफ्ले दोस्रो र जावलाखेलस्थित सेन्ट जेभियर स्कुलका रितेश देवले तृतीय स्थान हासिल गरेका छन् ।

उनीहरुलाई पनि पदक, स्मृति चिन्ह र नगद पुरस्कार प्रदान गरिएको छ । अन्य १२ जना सहभागी विद्यार्थीलाई समेत विशेष पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा देशभरका ४० विद्यालय र विश्वविद्यालयका विद्यार्थीको सहभागिता थियो । 

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हाश्मीले यस्ता प्रतियोगिताले युवा पुस्तामा आलोचनात्मक सोचको विकाससँगै नेपाल–पाकिस्तान सम्बन्धलाई समेत मजबुत बनाउने बताए । दूतावासले विगत १२ वर्षदेखि नेपालमा निबन्ध लेखन प्रतियोगिता आयोजना गर्दै आएको छ । त्यस्तै, वक्तृत्वकला प्रतियोगिता पछिल्लो आठ वर्षदेखि सञ्चालित छ ।

टिप्पणीहरू