राजावादीहरु नारायणचौरमा भेला हुँदै

राजावादीहरु नारायणचौरमा भेला हुँदै

राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै आन्दोलनमा होमिएका राजावादीहरु आज काठमाडौंको नक्सालस्थित नारायणचौरमा भेला हुने भएका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आज दिउँसो २ बजे नक्साल नारायणचौरमा भेला भएर प्रदर्शन गर्ने जनाएको छ ।

संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै राजावादीहरु हिजो नारायणहिटीको दक्षिण गेटमा भेल हुन खोजेका थिए । तर उक्त क्षेत्रलाई सरकारले निषेधित घोषणा गरिदिएपछि रत्नपार्कमा भेला भएर नारा लगाउँदै बालुवाटार गएका थिए । प्रहरीले बालुवाटार नपुग्दै उनीहरुलाई गैह्रीधारामा रोकेपछि चर्का नाराबाजी लगाएका हुन् ।

राप्रपाका नेताहरुसमेत सहभागी प्रदर्शनमा ‘राजा आऊ, देश बचाऊ’ को नारा लगाउँदै प्लेकार्ड प्रदर्शन गरिएको थियो । सरकारले प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति कार्यालय, शीतल निवास क्षेत्र वरपर यसअघि नै निषेधित क्षेत्र घोषणा गरिसकेको छ । 

चैत १५ गते तीनकुनेको प्रदर्शन हिंसात्मक बनेपछि राजावादीहरुले जेठ १५ गते गणतन्त्र दिवसको दिनदेखि पुनः आन्दोलन थालेका हुन् । राजसंस्था पुनस्र्थापना नभएसम्मा आन्दोलन नरोकिने उनीहरुको दाबी छ ।

टिप्पणीहरू