रविले दिए जेल सर्ने निवेदन

रविले दिए जेल सर्ने निवेदन

सहकारी ठगी र सम्पत्ति शुद्धीकरण प्रकरणमा अनेकौं मुद्दा खेपिरहेका रवि लामिछानेलाई विक्षिप्त अवस्थाकाबीच भैरहवा जेलबाट काठमाडौँ सारिपाउन निवेदन परेको छ । आफ्नै आतुरी र वरिष्ठ वकिलहरूको सल्लाहबमोजिम उच्चको आदेशविरुध्द हालिएको बन्दी प्रत्यक्षीकरणको रिट प्रतिकूल हुनेगरी सर्वोच्चबाट आदेश आएपछि ठूलो चोट बोक्न पुगेका रविले तनाव र हताशाबीच गत शुक्रबार जेलर सुरेश भण्डारीसामु सरुवाको निवेदन बुझाएका थिए । जेलरले निवेदन सदर गरेर अन्तिम निर्णयको लागि गृहमन्त्रालय पठाएका छन् । रविले स्वास्थ्य अवस्था र भैरहवाको अत्यधिक गर्मीलाई कारण देखाएको स्रोत बताउँछ । 

‘रवि लामिछाने भैरहवाबाट काठमाडौँ सरुवा हुने जानकारी आएको छ । अरुले पठाउन लागेको भन्दा पनि उहाँ आफ्नै माग हो । जेलरले निवेदन गृहमा फर्वार्ड गर्नुभएको छ,’ स्रोत भन्छ, ‘सायद केही दिनमा प्रक्रिया पूरा होला । जेलर र प्रहरी दुवैले सरुवा अनुमति दिएकोले समस्या नहोला कि !’ तर रविलाई भैरहवाको गर्मीभन्दा शरिरभित्रैको गर्मीले बढी पोलेको बुझिएको छ । श्रीमती निकिता पौडेल र केही वकिलले ढंग नपु¥याउँदा ठूलो चोट बोक्नुपरेको रविको चेहराले बताएको स्रोत बताउँछ । 

‘सर्वोच्चको आदेश पोजिटिभ आउँछ भन्नेमा एकदमै ढुक्क हुनुहुँदो रहेछ । तर अपेक्षा गरेभन्दा ठ्याक्कै उल्टो आदेश मात्रै आइदिएन, धेरै कुराको व्याख्या र प्रमाण ५ पेजमा समेटियो, ’ स्रोतको भनाइ छ, ‘यसैले उहाँमा बेचैनी बढ्दो छ । धेरै नै सक्ड हुनुभएको छ ।’

रविले धेरै आश गरेको मुद्दामा सर्वोच्चले जिल्ला अदालतका यसअघिका आदेशमाथि नै गम्भीर सवाल उठाइदिएको छ । ‘आदेश लेख्ने न्यायाधीश हुन् कि इजलास सहायक र रजिष्ट्रारहरू नै किन नहुन् शुरुमा त प्रायःसबैले रविप्रति उदारभाव राखेका थिए । यो मान्छेले केही गर्छ कि, सरकारले बदनियत राखेर फसायो कि भन्ने संशय नभएको होइन,’ स्रोत भन्छ, ‘तर मिसिल पढ्दै जाँदा काठमाडाँै, पोखरा, भैरहवा र चितवनका जिल्ला न्यायाधीशले कसरी धरौटीमा छोडे, बरु तिनलाई पो कारवाही गर्नुपर्ने रहेछ भन्नेसम्मको निष्कर्षमा उहाँहरू पुग्नुभयो भन्ने लाग्छ ।’ सर्वोच्चको माथिल्लो प्रशासनिक तहमा यतिसम्म कुरा हुन थालेपछि रविले अब जिल्ला र उच्च अदालतबाट सहकारी ठगीलगायत मुद्दामा उन्मुक्ति पाउने सम्भावना क्षीण बनेर गएको छ । यसैले उनी असाध्यै आत्तिएको देखिन्छ ।

सहकारीको कारोबारवारे केही थाहा छैन भन्ने रविले त्यतैबाट आएको पैसा गोर्खा मिडियाका नाममा बिबिसी र सिएनएनका कर्मचारीलाई काटिनेभन्दा बढी १२ सयसम्म चेकमार्फत एकदमै छोटो अवधिमा भुक्तानी दिलाएकोले जो कसैलाई उनका बिरोधाभाषपूर्ण कुरामा शंका गर्ने ठाउँ मिल्छ । सहकारी ठगीका मुख्य नाइके भनिएका जिबी राई फरार छन् । तर रविको अस्वाभाविक कारोबार हेर्दा नेपालमा विभिन्न उद्यम गरेर, हज्जारौं कर्मचारी पालेर बसेका जिबीलाई फसाउने उनै हुन् भन्ने भाष्य बन्दै गइरहेको छ । रविसँग संगत भएपछि जिबीको दुर्दशा शुरु भएको रहेछ भन्नेहरू उत्तिकै छन् । ‘सहकारीको जति पनि पैसा छ ल्याउनुस्, मेरो ब्राण्डमा ग्यालेक्सी टिभी मज्जाले चल्छ, अनि तिर्दै जाउँला’ भनेर रविले नै जिबीलाई पैसाको लागि बल गर्दा आजको दिन भोग्नुपरेको पत्याउने जमात बढ्दो छ । रविको कैफियत नै बढी भएर आदेश पनि पाँच पेजको आएको स्रोत बताउँछ । 

प्रमाण र तथ्यले रविलाई यसरी घेरेको छ कि उनी जस्तै ठगी ४, ५ जनाले गर्ने हो भने देश टाट पल्टिन र श्रीलंका बन्न समय नै लाग्दैन भन्नेहरू पनि थुप्रै छन् । 

छैन छविलालसँग बोलचाल

गोर्खा मिडियामा छविलाल जोशी उपाध्यक्ष र रवि प्रबन्ध निर्देशक थिए । तर सहकारी ठगीको एउटै कसुरअन्तर्गत भैरहवामा जेलजीवन बिताइरहँदा दुईबीच बोलचाल छैन । रवि एकातिर विक्षिप्त बन्दा छवि भने डिप्रेसनको औषधि खाँदै छन् । ‘छविलाल प्रेसर र डिप्रेसनको औषधि खाँदै हुनुुहुन्छ । दुईबीच बोलचाल छैन । बस्ने ब्लक अलग अलग हो, ’ स्रोत भन्छ, ‘हिजोका साथी भए पनि आज उहाँहरूबीच भेट हुने अवस्था छैन ।’

टिप्पणीहरू