नेपाली समाजमा आत्महत्याको डरलाग्दो प्रवृत्ति
सांकेतिक तस्विर
जेठ ७ गते चितवनको राप्ती नगरपालिका–१० स्थित दर्लामी चोकमा एकजना ८४ वर्षीय वृद्धले एकाबिहानै आफ्नै घरको पालीमा डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरे । त्यसको अघिल्लो दिन बिहानकै समयमा ९ बजेतिर खैरहनी–१०, स्वामीचोकमा २९ वर्षीया युवतीले धानमा हाल्ने विष सेवन गरी आत्महत्याको प्रयास गर्दा अरुले थाहा पाएर तुरुन्तै उपचारमा लगिएको थियो ।
जेठ ४ गते साँझ पाँच बजेतिर इच्छाकामना गाउँपालिका–२, टोलाङमा १३ वर्षीया बालिकाले पनि तरकारीमा हाल्ने विषादी सेवन गरी आत्महत्याको प्रयास गर्दा तत्काल उद्धार गरी उपचारमा लगिएको थियो । ३ गते दिनकै समयमा भरतपुर–५ साइरामचोक बस्ने ३३ वर्षीय पुरुषले आफ्नै घरमा सिलिङ पंखामा पर्दाको पासो लगाई झुण्डिएर आत्महत्या गर्न खोज्दा फेला पारी अस्पताल पुर्याइएको थियो ।
त्यसको अघिल्लो दिन साँझ पौने ६ बजेतिर माडी–१ बोटेटोल बस्ने अन्दाजी ५०÷५५ वर्षीया महिलाले आफ्नै घरमा आफू सुत्ने कोठामा डोरीमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी थिइन् । २ गते नै भरतपुर–२५ किसानचोकमा ४२ वर्षीय पुरुषले आफ्नै ७ वर्षकी छोरी र दाइको ५ वर्षे छोरालाई खुर्पाले हानेर घाइते बनाई सोही खुर्पाले आफैंलाई पनि प्रहार गरेका थिए । वैशाख २९ मा इच्छाकामना–३, सिस्नेरीमा ५४ वर्षीया महिलाबाट घरमै विष सेवन गरी आत्महत्या गरिएको थियो । चैत्र २९ मा रत्ननगर–१५ मा पनि ५७ वर्षीय पुरुषले आत्महत्याको लागि विषादी सेवन गरेका थिए ।
अघिल्लो वर्ष १२ भदौमा रातको ८ बजेतिर भरतपुर–३ पुलचोकस्थित नारायणी पुलको बीचबाट ४५÷५० वर्षीया महिला नदीमा हामफालिन् । भदौ १० गते दिउँसो बाराको गढीमाई–४ घर भई भरतपुर–३ लंकुमा भाडामा बस्दै आएका २०÷२२ वर्षका पुरुषले आफू सुत्ने कोठामा कोही नभएको अवस्थामा शरीरमा पेट्रोल खनाइ आगो लगाएका थिए । त्यसबाट गम्भीर घाइते भएका उनको काठमाडौं, कीर्तिपुर अस्पतालमा उपचारको सिलसिलामा ज्यान गएको थियो ।
भदौ १० कै बेलुकीको समयमा भरतपुर–१४, शान्तिपुरस्थित खगेरी नहरमा गुम्बाचोक बस्ने ३६ वर्षीया महिला हामफालिन् । तत्काल प्रहरी टोली पुगेर खोजी गर्दा फेला पार्न सकेन । त्यसअघि २९ साउनमा दिनको सवा ४ बजेतिर नारायणगढको पुलचोकस्थित नारायणी पुलबाट ३५÷४० वर्षीय पुरुष नदीमा हामफाली बेपत्ता भएका थिए । साउन २६ गते दिनकै मध्यान्हमा उक्त नारायणी पुलबाट अर्का अन्दाजी २५÷३० वर्षका पुरुष पनि हामफालेर बेपत्ता भएका थिए ।
यी सबै चालु आर्थिक वर्षमा चितवनमा भएका आत्महत्याका केही प्रतिनिधिमूलक घटनामात्र हुन् । प्रहरी रेकर्डअनुसार नेपालमा प्रत्येक वर्ष छ हजारभन्दा बढी मानिसले आत्महत्या गरेर ज्यान फालिरहेका छन् । नेपालमा आत्महत्या दर वर्षेनी बढ्दै गइरहेको छ । आत्महत्या गर्नेको संख्या द्वन्द्व र प्राकृतिक प्रकोपबाट मर्नेको भन्दा बढी छ । चितवनमा मात्रै एक वर्षमा आत्महत्याबाट लगभग दुईसय जनाको ज्यान गइरहेको स्थिति छ ।
२०७८/०७९ मा ११४ जना, ०७९/०८० मा २२४ जना र गत वर्ष २०८०/०८१ मा २३२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनको रेकर्डमा उल्लेख छ । यी बाहेक आत्महत्याको प्रयास गर्दा अरुले थाहा पाएर बालबाल जोगाइदिएका थुप्रै छन् । आत्महत्याको प्रयासबारे प्रहरीलाई पूरा जानकारी आउने गरेको पनि छैन ।
विभिन्न तथ्याङ्कअनुसार विश्वमा वर्षेनी आठ लाखभन्दा बढी मानिसले आत्महत्या गर्ने गरेका छन् । निम्न र मध्यम आय भएका देशमा नै यो प्रवृत्ति बढी देखिन्छ । विश्वमा आत्महत्या बढी हुने देश मध्येमा नेपाल पनि पर्छ ।
जिल्ला प्रहरी कार्यालय चितवनमा हालै सरुवा भई आएका प्रहरी उपरीक्षक गोविन्द पुरीले केही दिनअघि विभिन्न संघसंस्थासँगको परिचयात्मक अन्तरक्रियाको क्रममा आत्महत्याको स्थिति डरलाग्दो रुपमा बढ्दै गइरहेको जनाउँदै भनेका थिए, ‘यसलाई घटाउन तपाईं हामी मिलेर केही गर्न सकिन्छ कि !’
नेपालमा आत्महत्या गर्नेमा झुण्डिनेको संख्या धेरै छ । तर आत्महत्या प्रयासको तथ्याङ्क हेर्ने हो भने विष सेवन गर्नेको संख्या बढी देखिन्छ । हानिकारक विषादीमा मानिसहरुको सहज पहुँचका कारण नेपालमा यो समस्या अधिक छ । आत्महत्या गर्नेमा पुरुष बढी देखिएपनि प्रयास गर्नेचाहिँ महिला बढी छन् । आत्महत्या गर्नुअघि प्रयासहरु बारम्बार सामान्यरुपमा भएकोसमेत प्रहरीको शोध अध्ययनले देखाएको छ । शिक्षितहरु भन्दा साधारण लेखपढमात्रै गरेका वा नपढेका नै आत्महत्या गर्ने धेरै छन् । अविवाहित भन्दा विवाहितको आत्महत्या दर बढी छ ।
सरकारी अस्पतालमा कर्तव्य ज्यान, आत्महत्या र दुर्घटनाबाट भएको मृत्युको पोस्टमार्टम गरिन्छ । भरतपुर अस्पतालमा पछिल्लो तीन वर्षमा २१ सयजति शवको पोस्टमार्टम गरिँदा ६१३ जनाको सुसाइडल पोस्टमार्टम गरिएको अस्पतालका एम.डी. फरेन्सिक मेडिसिन डा. कस्चेभ श्रेष्ठ बताउँछन् ।
६१३ मा पनि ५०० झुण्डिएर, १०३ विष, हामफालेर सात जना र जलेर आत्महत्या गरेका तीन जना रहेको जानकारी गराउँदै उनले भने, ‘पोस्टमार्टम केस पनि प्रतिवर्ष बढेकै छ, त्यसमा आत्महत्या दर पनि वृद्धि भाको छ ।’
आत्महत्याका कारण
मानिसहरु किन यसरी आफ्नो ज्यान आफैं फाल्न उद्यत भइरहेका होलान् ? मानवचोला दोहोर्याएर मिल्ला ? एकबारको जिन्दगीलाई जसरी हुन्छ मजाले जिउने हो, जे छ त्यसैमा रमाउने हो । पीडामा पनि खुशी हुन सक्यौं भने बल्ल जीवन मजाले बाँचिन्छ । वास्तवमा जीवनको अर्थ नै जिउनु हो । भनिन्छ, ८४ जुनी काटेपछि बल्ल मानवचोला पाइन्छ, जसले आत्महत्या गर्छ, उसको आत्माले पनि कहिल्यै शान्ति पाउँदैन, सँधै भडकिनै रहन्छ ।
डिप्रेसन, डर–चिन्ता लगायतका मानसिक तनाव, प्रेममा असफलता, परीक्षामा असफल, घरेलु हिंसा, जाँडरक्सीको सेवन, लागुऔषध दुव्र्यसन, पारिवारिक द्वन्द्व, जबरजस्ती करणी, गरिबी, बेरोजगारी, धनसम्पत्तिको नोक्सानी, एक्लोपन, शारीरिक अपांगता, आफन्तसँग वियोग, गम्भीर यौन उत्पीडन, अनैतिक सम्बन्ध, विवाहेत्तर सम्बन्ध, पागलपन, जागिरबाट निष्कासन, सामाजिक बहिष्कार, जिद्दीपन, अभिभावकको संरक्षकत्वमा कमी, दीर्घरोग, ब्ल्याकमेल, देखासिकी, दाइजो, बहुविवाह, गम्भीर कानुनी समस्यालगायत कुनै जोखिमयुक्त समस्याबाट मुक्ति पाउन मानिसहरुले आत्महत्यालाई अपनाइरहेको स्थिति छ ।
मानसिक दबाब जस्तै दुव्र्यवहार, हैरानी, हेपाइ, गम्भीर दुर्घटना र गम्भीर बिरामीको कारण पनि मानिसहरुले आत्महत्या गरिरहेको अवस्था छ । पटकपटक आत्महत्याको प्रयास र परिवारका सदस्यको आत्महत्याबाट मृत्यु पनि कारण देखिएको छ । यसैगरी, अर्काे व्यक्तिको प्रभाव वा भौगोलिक कारणबाट प्रेरित भएर पनि मानिसहरु आत्मघाती अवस्थामा पुगिरहेको पाइन्छ । आत्महत्या असफलता वा अतृप्त आवश्यकताहरु, निराशा र असहायताको भावना, बाँच्नको लागि अस्पष्ट द्वन्द्व र असह्य तनाव, कथित विकल्पहरुको संकुचन र पूरा हुन नसक्ने आवश्यकताहरुसँग सम्बन्धित छ ।
पारिवारिक कलह तथा विवादहरु, असल अभिभावकत्वको अभाव, उचित हेरचाह पालनपोषणको अभावले बालबालिका तथा परिवारका सदस्यहरुमा मानसिक तनाव बढ्ने, जसले आत्महत्यासम्म पुर्याउन सक्ने देखिएको छ । वृद्ध व्यक्तिहरु विशेष गरी जो आफूलाई उपेक्षित वा परिवारको लागि बोझ महशुस गर्छन् उनीहरु आत्महत्या गर्ने उच्च जोखिममा हुन्छन् । समाजमा विद्यमान जातीय र धार्मिक भेदभावले पनि मानिसहरुलाई आत्महत्याको अवस्थासम्म पुर्याएको छ ।
आत्महत्याका संकेत
व्यक्ति मर्न चाहन्छ भने दुःखको संकेत देखाउँछ । आत्महत्या गरेका ९० प्रतिशत व्यक्तिले केही न केही संकेत छाड्ने बताइन्छ । तर उनीहरुले गरेको संकेत अरुले बुझ्न नसक्दा वा गम्भीरताको साथ नलिँदा समस्या हुने गरेको मनोचिकित्सकहरु बताउँछन् । आत्महत्याको योजना बनाएको व्यक्तिले असाधारण हाउभाउ देखाउँछन् ।
निकै निराश हुने, दुःखी हुने वा संसार नै सकिएजस्तो मान्दछन् । जब आत्महत्याको योजना बनाउँछन्, त्यसपछि पहिले दुःखी भएको मानिस अचम्मै खुशी देखिन्छ । साथीभाइ भेटघाट गर्ने, घुमफिर गर्न थाल्छ । कतिपय अवस्थामा आत्महत्या गर्न चाहनेले त्यसमा अलि बढी चासो राख्छन् । इन्टरनेटमा पनि यसबारे बढी खोजीनीति गर्छन् ।
यसमा मनोचिकित्सक डा. खगेन्द्र काफ्ले भन्छन्, ‘हामीले सुन्दा त हिजोसम्म राम्रै देखिएको मान्छे आज यस्तो गरेछ भन्ने हुन्छ । तर परिवारका मान्छेले उसमा आएको बदलाव महसुस ग¥या हुन्छ । आर्थिक तनावको कारण करिब एक महिनाअघि नारायणी नदीमा हामफालेर गैंडाकोटका एक पुरुषले आत्महत्या गरेको केसमा हेर्दा केही दिनदेखि उहाँले खाना नि कम खानुहुन्थ्यो । एक ठाउँमा बस्नु हुन्थेन, हिँड्याहिँड्यै गर्नुहुन्थ्यो, छटपटाउनु हुन्थ्यो । असह्य छटपटी भएपछि राति निस्केर जानुभयो ।’
‘यस्तो घबराहट, बेचैनी नजिकको मान्छेलाई थाहा भएको हुन्छ । एकजना गाउँको मान्छे हुनुहुन्थ्यो, रक्सी धेरै खानुहुन्थ्यो, जुन दिन आत्महत्या गर्नुभाथ्यो, त्यो भन्दा एकहप्ता अगाडि नै नजिकको रुखमा गएर नाप्ने गर्नु भाथ्यो । त्यसपछि सम्पत्तिहरु पनि बाँडिदिनुभएछ अरुलाई’ डा. काफ्ले भन्छन्, ‘आत्महत्या नै गर्छ भनेर भविष्यवाणी गर्न त सकिन्न तर हामीले केही गर्न सक्ने विन्डोचाहिँ पाइएको हुन्छ । मरे ठिक हुन्थ्यो भन्ने भाव व्यक्त पनि गरेको हुन्छ । यस्ता खतराका चिन्हलाई हामीले पत्ता लगाउन सक्यांै भने आत्महत्या कम गर्न सकिन्छ । रिस आवेश बढी हुने मान्छेबाट पनि घटना हुन सक्छ ।'
न्यूनीकरणको उपाय
सबैभन्दा महत्वपूर्ण कुरा व्यक्तिमा सकारात्मक सोच जरुरी छ । मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रमको खाँचो टड्कारो छ । आत्महत्या न्यूनीकरणको अवधारणमा जनप्रतिनिधिको सहभागितामा पालिका समूह गठन गर्न आवश्यक मानिएको छ । कीटनाशक औषधिको बिक्रीवितरण कडाइका साथ नियमन नियन्त्रण गर्न जरुरी छ । तनावग्रस्त व्यक्तिहरुको पहिचान गरी मनोसामाजिक परामर्श दिने, गरिबी न्यूनीकरण र रोजगारी प्रवद्र्धनका कार्यक्रमहरु व्यापक रुपमा सञ्चालन गरिनुपर्छ ।
सामाजिक सञ्जालले समाजमा आत्महत्या बढ्नु वा घट्नुमा मिश्रित प्रभाव पारिरहेको बताइन्छ । यस मानेमा आत्महत्या न्यूनीकरण सम्बन्धमा सामाजिक सञ्जालहरुबाट सकारात्मक सूचना तथा जानकारी प्रवाह गर्न सकिएमा र यस विषयमा नकारात्मक सामग्रीहरुको प्रवाहलाई नियमन गर्न सकिएमा आत्महत्या न्यूनीकरणमा सहयोग पुग्ने प्रहरी अध्ययनको निष्कर्ष छ ।
एक मेडिकल अफिसरका अनुसार ‘मानसिक स्वास्थ्य सम्बन्धी सचेत नहुनु, विद्यालयमा समेत गुणस्तरीय शिक्षाको अभावको कारण मानसिक स्वास्थ्य सम्बन्धी जानकारी दिन नसक्नु, जसले गर्दा बेरोजगारी अशिक्षाले गर्दा समस्याको समाधान भन्दा समस्यामा नै रुमल्लिने र आत्महत्यालाई अन्तिम विकल्पको रुपमा छान्ने गरेको देखिन्छ ।’ तसर्थ, बालबालिकाहरुलाई स्कूल लेभलकै पाठ्यक्रममा आत्महत्या न्यूनीकरणको विषयमा चेतनामूलक पाठ्यसामग्री समावेश गर्दा सानैदेखि यो विषयमा जानकार हुने सरोकारवाला बताउँछन् ।
यसैगरी, आत्महत्या सम्बन्धी सडक नाटक, श्रव्यदृश्य सामग्री र सामुदायिक बैठकहरु जस्ता जनचेतनामूलक कार्यक्रमहरु गरी समुदायका सदस्यहरुमा सचेतना फैलाइनुपर्ने विज्ञ बताउँछन् । ग्रामीण तथा पिछडिएको क्षेत्रहरुमा परामर्श केन्द्र स्थापना गर्न आवश्यक छ । आत्महत्या न्यूनीकरणको लागि मनोसामाजिक परामर्शदाता तथा मनोविमर्शदाताहरुको निकै ठूलो महत्व र आवश्यकता देखिन्छ ।
आत्महत्या दुरुत्साहन सम्बन्धी वर्तमान कानुनलाई पुनरावलोकन गर्नुको साथै थप सुधारका कार्यक्रमहरु जरुरी ठानिएको छ । जोखिममा रहेका महिला र पुरुषहरुको लागि संरक्षणगृहको आवश्यकता मानिएको छ । नेपाल प्रहरी र स्थानीय तहको आपसी सहयोग र समन्वयमा प्रभावकारी ढंगबाट सचेतना तथा रोकथाम कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।
साइकियट्रिस्ट डा. खगेन्द्र काफ्लेका अनुसार उमेरले ५० कटेका पुरुषले आत्महत्याको सोच एकपटक निकाल्यो भने उसले आत्महत्या गर्ने सम्भावना उच्च हुन्छ । उनी यो पनि भन्छन्, ‘सुसाइडमा अल्कोहलको भूमिका धेरै छ, अरु स्ट्रेसमा त गाँजा, ट्याब्लेट सबै कुराहरु नराम्रो मानिन्छ । औषधि खाइरहेका मान्छेको औषधि मिस हुँदा पनि समस्या हुने गरेको उनले बताए । आत्महत्याको ८० प्रतिशत केस मानसिक रोगसँग जोडिएको डाक्टर बताउँछन् । ‘कसैलाई एकै मिनेटको सोचाइले पनि त्यो अवस्थासम्म पुर्याउन सक्छ’ उनले भने, ‘जस्तो बाबुले मोबाइल चलायो भनेर गाली गर्दा पनि बच्चा झुण्डिएर मरेको छ ।’
तनाव व्यवस्थापनको लागि जीवनशैलीलाई नियमित गर्ने, समयमा सुत्ने– समयमा उठ्ने, टाइममा खाने, बीचबीचमा बे्रक लिने, एउटै कामले निरस भइयो, थाकियो भने केही समय ब्रेक लिने, फरक माहोलमा जाने फ्रेस हुने–आउने, नयाँ ठाउँ घुमेर आउँदा पनि मान्छे फ्रेस हुन्छ । गीतसंगीत, जिम, व्यायाम, डान्स, ट्राभल जसलाई जे मन पर्छ, त्यही गर्ने । यस्ता केही सोखहरुले मान्छेमा तनाव कम गर्छ । मानसिक समस्यामा सुरुमा व्यक्तिलाई मनोसामाजिक परामर्शमा लैजानुपर्छ । त्यसले भएन भने अनि औषधि उपचारमा ल्याउनुपर्ने हुन्छ– उनले भने ।
तर सरकारी अस्पतालमा समेत मनोसामाजिक परामर्शकर्ताको दरबन्दी छैन । विभिन्न प्राइभेट संस्थाहरुबाट मनोपरामर्शको काम हुँदै आएको छ । भरतपुर अस्पतालमै मनोसामाजिक परामर्शदाताको पद नभएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले बताए । यहीँकी एक महिला कर्मचारीलाई मनोपरामर्शको छ महिने तालिमचाहिँ दिइएको सूचना अधिकारी गोपाल पौडेलले जनाए ।
नेपाल प्रहरीले व्यापक खोज अनुसन्धान गरी गत असारमा ल्याएको शोध अध्ययन प्रतिवेदन एवम् आत्महत्या न्यूनीकरण कार्ययोजनामा उल्लेखित विषयसमेत यहाँ संक्षेपमा उल्लेख गरिएको हो । देशभर आत्महत्या न्यूनीकरणको लागि प्रहरीले यसै अनुरुप कामकारबाही अगाडि बढाइरहेको बताइन्छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले भने, ‘हाम्रो मेन प्रिन्सिपल नै यही हो । संगठनले बनाएको योजना हो, त्यसै अनुरुप हामी क्रियाशील छौं, प्रयत्नशील छौं ।’
चितवनमा सबैभन्दा धेरै आवादी भएको शहर भरतपुर महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा निर्देशक शान्ताकुमारी पौडेलले मानसिक स्वास्थ्य र मनोसामाजिक समस्याका विषयमा हालै ८ वटा वडा (२७, २८, ८, ६, १३, १४, १५ र १६) मा सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिइन् ।
विद्यार्थीहरुका लागि पनि सचेतनामूलक कार्यक्रमहरु चलिरहेको महानगरका उपप्रमुख चित्रसेन अधिकारीले बताए । रोजगारीको अवसर बढाउन र गरीबी घटाउन महानगरपालिकाबाट विभिन्न आयमूलक र सीपमूलक तालिमहरु पनि सञ्चालन भइरहेको उनले जनाए । एक वडा एक मनोपरामर्शदाताको तालिम दिएर राखेको अवस्था पनि उपमेयरले अवगत गराए । अब मानसिक स्वास्थ्य सम्बन्धी विषयलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न पनि महानगरपालिकाले ध्यान दिने उनले बताएका छन् ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले भने, ‘मानसिक स्वास्थ्य सुधार एवम् आत्महत्या न्यूनीकरणतर्फ थप मेहनत गर्न आवश्यक छ, त्यो हामी गर्छाैं । यो एउटा जटिल विषय हो, यसमा अझ प्रभावकारी रुपमा के गर्न सकिन्छ र गर्नुपर्छ सबै सरोकारवालाहरुसँग छलफल गरेर हामी अगाडि बढ्छौं ।’
टिप्पणीहरू