अखिलमा फेरि किचलो, मतदान माग्दै नाराबाजी

अखिलमा फेरि किचलो, मतदान माग्दै नाराबाजी

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनकाका लागि आज मतदान हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा जारी २४ औं महाधिवेशनमा विद्यार्थी नेताहरु प्यानल बनाएर चुनावी मैदानमा होमिँदैछन् । अध्यक्षमा डा.सुजन कडारिया र प्रकाश पौडेलको उम्मेदवारी परेको छ । 

तर, सर्वसम्मतिको नाममा पार्टी नेतृत्वले तोकेको व्यक्तिलाई अखिलको नेतृत्व जिम्मा लगाउने चलखेल शुरु भएको भन्दै असन्तुष्टिका स्वर सुनिन थालेको छ । बालुवाटारको रोजाईका सुजनलाई अध्यक्ष बनाउन प्रकाशको उम्मेदवारी फिर्ताका लागि अनेकन तानाबाना बुन्ने काम भइरहेको सम्वद्ध स्रोतले जानकारी दिएको छ । 

तर, प्रकाश उम्मेदवारी फिर्ता लिन तयार भएका छैनन् भने मतदान अन्यौलमा परेको भन्दै महाधिवेशन प्रतिनिधिले बन्दसत्र हलमा नाराबाजी शुरु गरेका छन् । उनीहरुले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर मतदान कार्यक्रम अगाडि बढाउन माग गरेका छन् । 

‘प्रकाशलाई उम्मेदवारी फिर्ता लिन वालुवाटारबाट दबाब आइरहेको छ । तर, उनी एकरत्ति पनि आफ्नो निर्णयबाट ढग्मगिएका छैनन् । मतदान कार्यक्रम अन्यौल छ । सहभागीहरुले मतदानको माग गर्दै नाराबाजी थालेका छन्’, उनै प्रतिनिधिले भने । 

प्रकाश संगठनमा भिजेका मान्छे भएकाले नेतृत्वले उनलाई चुनौती ठानेको र सर्वसम्मतिमा बढी जोड दिएको ति प्रतिनिधिको बुझाई छ । ‘धनाढ्य होइन, गरिखानेको छोराले ठाउँ पाउनुपर्ने’ भन्दै प्रतिनिधिहरू मतदान गर्नुपर्नेमा अडिग देखिएका छन् । 

उम्मेदवारीबाट कुनै हालतमा पछाडि नहट्ने निर्णय लिएका प्रकाश भने अन्य पदका उम्मेदवारसँग छलफलमा छन् । खुल्ला उपाध्यक्षमा भरत धामी (लिपुलेक), राजकुमार ढकाल, विकास श्रेष्ठ र धमेन्द्र केसीले उम्मेदवारी दिएका छन् । विकास संस्थापन पक्षका हुन् भने भरतले प्रकाशलाई साथ दिने सम्भावना देखिएको छ । 

महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुजिता धिताल र भवानी बजगाईँको उम्मेदवारी परेको छ । अञ्जना वालुवाटारकी उम्मेदवार हुन् भने प्रकाशले आरतीसँग संवाद गरिरहेका छन् । महासचिवमा संस्थापन पक्षको तर्फबाट दीपक धामी, प्रकाशको तर्फबाट आरके रोमस र सुनिल कँडेलले उम्मेदवारी दिएका छन् ।

टिप्पणीहरू