गृहमन्त्रीविरुद्ध प्रमाण भेटिएको भन्दै संसदमा नाराबाजी
विपक्षीहरुको लगातारको नाराबाजीपछि प्रतिनिधिसभाको भोलिसम्मका लागि स्थगित गरिएको छ ।
भिजिट भिसा काण्डमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानविन गर्न उच्चस्तरीय आयोग गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलका संसदले उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले भोली दिउँसो ३ बजे बस्नेगरी आजको बैठक स्थगित गरेका हुन् ।
आज बैठक शुरु हुनासाथ विपक्षी दलका सांसदहरूले विरोध गरेका थिए । सभामुख घिमिरले दलीय आधारमा बोल्न दिने भन्दै आफ्नो पालोमा कुरा राख्न आग्रह गरेपनि सांसदहरूले मानेनन् । उनीहरुले ‘मानव तस्करीलाई कारवाही गर’, ‘गृहमन्त्रीले राजीनामा दिनैपर्छ’ जस्ता नारा लगाए ।
त्यसक्रममा केही सांसदले ‘मान्छे बेचेको पैसा राष्ट्रिय वाणिज्य बैंकको खाताबाट कारोबार भएकाे छ, प्रमाण चाहिए हामी दिन्छौँ’ पनि भनेका थिए । अवरोध नहटेपछि सभामुखले बैठक शुरु भएको १६ मिनेटमै स्थगित भएको घोषणा गरे ।
यो प्रकरणमा विपक्षीहरुले पछिल्लो २ सातादेखि निरन्तर सदन अवरोध गरिरहेका छन् ।
टिप्पणीहरू