नवराज सुवेदी र कमल थापालाई हटाउने तयारी, नयाँ मोडालिटी बनाउँदै राजावादी
पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा राजावादी आन्दोलनको नेतृत्व पाएका राष्ट्रिय पञ्चायतका अन्तिम अध्यक्ष नवराज सुवेदीलाई राजावादी युवाहरुले जिम्मेवारीबाट हटाउने तयारी गरेका छन् । उनीसहित राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पनि पदमुक्त गरेर आन्दोलन समिति पुर्नगठन गर्ने उनीहरुको तयारी छ ।
गत चैत ४ गते ८६ वर्षीया सुवेदीको नेतृत्वमा ११ सदस्यीय आन्दोलन समिति र पाँच सदस्यीय सल्लाहकार समिति घोषणा भएको थियो । तर, निर्मल निवासको रुचिअनुसार बनेको समिति शुरुमै विवादमा पर्यो । राजेन्द्र लिङ्गदेन र कमल थापाहरु सुवेदीलाई अघि लगाएर राजा फर्काउने आन्दोलनमा सहभागी नहुने अडानमा थिए ।
तर, राप्रपाकै धवल शमशेर र रविन्द्र मिश्रलगायत भने सुवेदीकै नेतृत्वमा आन्दोलन अगाडि बढाउने पक्षमा उभिए । र चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा राप्रपाका नेता-कार्यकर्ता सामेल भए । आन्दोलन परिचालन समितिमा रहेका धवल, सदस्य सचिव मिश्र र सदस्य एंव जनकमाण्डर दुर्गा प्रसाई तीनकुने हिंसामा पक्राउ परेपछि अहिले निस्क्रिय छन् । यसबीच आन्दोलनले अपेक्षाकृत गति नलिएको निश्कर्षका आधारमा सुवेदी र थापालाई हटाएर युवाहरुको बाहुल्यता रहनेगरी कमिटी पुर्नगठन गर्न लागेको बताइएको छ ।
समितिका एक नेताका अनुसार सुवेदी र थापाकै कारण जेठ २१ गतेको समीक्षा बैठकमा युवाहरुले होहल्ला गर्ने परिस्थिति सिर्जना भएको थियो । उनीहरुकै कारण आन्दोलनलाई क्षेति पुगेको बुझाइ छ ।
‘समितिका अधिकांश नेता उहाँहरुको कार्यशैलीसँग सन्तुष्ट छैनन्, समीक्षा बैठकमा हामीले मिडियालाई प्रवेश नगराऔँ, बरु बैठकपछि प्रेसमिट गरेर निस्कर्ष सुनाउँला भनेर निकै आग्रह गरेका थियौँ’, उनले जनआस्थासँग भने, ‘तर कमल थापाकै जिद्दीमा मिडियालाई छिराइयो, संयोजकले पनि केही हुँदैन भन्दै समीक्षा बैठकको टेलिकास्ट गर्न दिनुभयो, त्यस दिनको घटनाले आन्दोलनलाई नराम्ररी क्षति गरेको अधिकांश सदस्यहरुको निष्कर्ष छ ।’
उनका अनुसार युवाहरुलाई समेटेर आन्दोलनको नयाँ रुपरेखा तयार गर्ने काम आन्तरिकरुपमा चलिरहेको छ । आन्दोलनको मोडालिटी तय भइसकेपछि समितिले नयाँ नेतृत्व घोषणा गर्ने छ ।
नेपाली कांग्रेसका सांसद तथा हिन्दुवादी नेता शंकर भण्डारी र सुनिल शर्मा, एमालेबाट निष्कासित भई हाल भातृभूमि जागरण अभियान चलाइरहेका भीम रावल लगायतलाई पनि आन्दोलनमा जोड्न समितिका सदस्यहरुले पहल गरिरहेको बुझिएको छ । ‘धेरैलाई समेटेर आन्दोलनको नेता बनाउने गरी साथीहरुले कुरा अघि बढाउनुभएको छ, त्यसले सार्थकता पाउँछ वा पाउँदैन, त्यो केही दिनपछि थाहा हुन्छ’, ती नेताले थपे ।
आन्दोलन समितिका सदस्यसमेत रहेका राप्रपा अध्यक्ष लिङदेनले पनि सुवेदीलाई संयोजकको भूमिकाबाट हटाउन लागेको घुमाएर स्वीकार गरे । राजावादी आन्दोलन तुहिएको हो ? भन्ने जनआस्थाकाे प्रश्नमा उनले आन्दोलनको मोडालिटीमा आन्तरिक गृहकार्य भइरहेको बताए ।
‘उहाँहरु (सुवेदी र थापा) त अस्ति (समीक्षा बैठक)बाट हटिसक्नुभयो, तर हाम्रो सम्मान उत्तिकै रहनेछ’, संसद भवन जाँदै गरेका उनले संक्षेपमा भने, ‘हाम्रो आन्दोलन तुहिएको हैन, अहिलेसम्म भएको गल्ती नदोहोर्याउने गरी नयाँ ढंगबाट आउँदैछौ, अहिले त्यसकै तयारीमा छौँ ।’
अध्यक्ष लिङदेनले सुवेदी र थापाको कार्यशैलीप्रति गम्भीर असन्तुष्टिसमेत व्यक्त गरेका छन् ।
टिप्पणीहरू