कम्युनिष्टमाथि देउवाको कटाक्ष : असली होइनन्, नाम फर्न बाँकी छ

कम्युनिष्टमाथि देउवाको कटाक्ष : असली होइनन्, नाम फर्न बाँकी छ

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा वास्तविक कम्युनिष्ट पार्टी नरहेको बताउनुभएको छ । 

कम्युनिष्टहरु विश्वमै समाप्त भैसकेको बताउँदै नेपालमा भने संख्या बढिरहेको तर असली कम्युनिष्ट भने नभएको दाबी उहाँले गर्नुभयो । अहिलेका कम्युनिष्टहरु विगतका कम्युनिष्टजस्तो नरहेको जिकिर देउवाको छ । 

पूर्व प्रधानमन्त्रीसमेत रहेका उहाँले नेपालमा कम्युनिष्ट पार्टी बलियो हुनुमा शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको पनि बताउनुभयो ।  शिक्षकहरुकै कारण कम्युनिष्ट बढेको भए पनि उनीहरु लोकतान्त्रिक प्रक्रियामा आइसकेकाले डराउन भने नपर्ने तर्क देउवाले गर्नुभयो ।  

‘म वास्तवमा टिचरको कारणले नेविसंघ भएको हो । टिचरकै कारण कति अखिल भएका छन् । त्यसमा टिचरको धेरै ठूलो हात छ । बच्चालाई के थाहा हुन्छ, के राम्रो के राम्रो होइन । टिचरले जे भन्यो त्यही राम्रो हुन्छ । टिचरले गर्दाखेरी पनि म डेमोक्रेट भएको हुँ । टिचरले गर्दा कम्युनिष्ट भएका छन्', पार्टीसम्वद्ध शिक्षक संघको कार्यक्रममा देउवाले आफ्नै शैलीमा भन्नुभयो, 'मैले टिचरलाई विद्यार्थीलाई खालि काँग्रेस मात्रै बनाउन भन्न खोजेको होइन । विद्यार्थीलाई पढाउँदा के राम्रो हो अहिलेको बेलामा त्यो भन्नुपर्छ । संसारभर खत्तम भइसक्यो तर नेपालमा कम्युनिष्ट बढेको बढ्यै छ ।'

तर, लोकतान्त्रिक पद्धतिमा आइसकेकाले उनीहरुलाई कम्युनिष्ट भन्न नमिल्ने देउवाको धारणा छ । संविधानअनुसार बहुदलीय लोकतन्त्र आइसकेको हुनाले उनीहरुलाई अब कम्युनिष्ट भनिरहन नपर्ने तर्क पनि उहाँले गर्नुभयो ।

सभापति देउवाले एमाले, माओवादीलगायतका कम्युनिष्टहरुले अब नाममात्रै बदल्न बाँकी रहेको भन्दै कटाक्ष गर्न पनि छोड्नुभएन । 

'हिजोको जस्तो नरहेको कम्युनिष्ट छैनन् । उनीहरु डेमोक्रेट भइसकेको छ । आजको कम्युनिष्टलाई कम्युनिष्ट नै भन्न मिल्दैन । तर अहिलेको संविधानअनुसार आइसकेको हुनाले मल्टी पार्टी डेमोक्रेटिक सिस्टममा आइसकेको हुनाले उहाँहरुलाई कम्युनिष्ट भनिरहनु पनि पर्दैन’, उहाँले भन्नुभयो, ’तर उनीहरु मल्टीपार्टी डेमोक्रेटिकमा अडप्ट भइसकेका छन् । नाममात्रै बदल्न बाँकी छ । तर कम्युनिष्ट छैनन् उहाँहरु ।’

टिप्पणीहरू