एकैदिन चार जनाद्वारा विष पिएर प्राण फाल्ने प्रयास

चितवनमा एकैदिन चार जनाले विष सेवनगरी आत्महत्याको प्रयास गरेका छन् । जिल्लाका विभिन्न स्थानमा हिजो चार जनाले विष पिएर ज्यान फाल्न खोजेका हुन् ।
राप्ती–८ को पाख्रीबासका वेदनिधि नाम गरेका ४६ वर्षीय पुरुषले बिहान सात बजेतिर त्रिकाल–५०५ नामक विषादी सेवन गरेका थिए । विषादीको असरबाट हल्का बोल्ने अवस्थामा उपचारको लागि मेडिकल कलेज लगिएको थियो । अहिले स्वास्थ्यमा राम्रै सुधार भइरहेको आफन्त माधव छतकुल्लीले जानकारी दिए ।
हिजो बिहान साढे ११ बजेतिर रत्ननगर–६ मा २१ वर्षीया युवती निकिता महतोले हर्पिक विषादी सेवन गरेकी थिइन् । उनलाई बोल्न सक्ने अवस्थामै उपचारको लागि पुरानो मेडिकल कलेज पुर्याइएको थियो । उनको अवस्थामा पनि सुधार भइरहेको आफन्तले बताएका छन् ।
हिजै दिउँसो–१ बजेतिर रत्ननगर–१२ जयमंगलामा वर्ष ३५ को मदन भट्टराईले किरा मार्ने विषादी सेवन गरेका थिए । उनलाई गम्भीर हालतमा उपचारको लागि पुरानो मेडिकल कलेज लगिएको थियो । उनलाई पनि हिजोभन्दा बिसेक भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
दिउँसो–३ बजेतिर खैरहनी–९ मा लाहुरे टोल बस्ने ३९ वर्षीय कमल रानाले सुपरसाइपर–१० नामक विषादी सेवन गरेका थिए । उनलाई उपचारको लागि सरकारी अस्पताल भरतपुर लगिएको थियो । उनको पनि अहिले स्वास्थ्यमा सुधार भई अवस्था सामान्य रहेको परिवारजनले बताएका छन् ।
प्रहरीका अनुसार रत्ननगर–१२ का पुरुषले श्रीमतीसँगको विवादका कारण विष सेवन गरेका हुन् । अरुको चाहिँ विषादी सेवनको कारण हाललाई खुल्न नसकेको बताइएको छ । नेपालमा बढीजसो झुण्डिएर र त्यसपछि धेरै विष सेवन गरी आत्महत्या भइरहेको पाइन्छ ।
आत्महत्याको प्रयासमा त झन् विषादीकै सेवन असाध्यै बढी मात्रामा देखिन आएको छ । नेपालमा हानिकारक विषादीमा मानिसहरुको सहज पहुँचका कारण समस्या बढ्दैछ । आत्महत्या न्यूनीकरणको लागि कीटनाशक विषादीहरुको बिक्री–वितरणमा कडाइका साथ नियमन, नियन्त्रण गर्न अत्यन्त जरुरी देखिएको नेपाल प्रहरीको शोध अध्ययन प्रतिवेदनमा समेत प्रस्टरुपमा औंल्याइएको छ ।
यसैबीच, हिजै साँझ भरतपुर–९ शरदपुरमा ३० महिनाको बच्चाले मट्टीतेल सेवन गर्न पुगेका थिए । अशोक गुरुङको छोरा आर्य गुरुङले खेल्नेक्रममा घरकोठाको टेबुलमा राखिएको मट्टीतेल पिएका थिए ।
मट्टीतेल सेवनबाट बिरामी भएका बच्चालाई उपचारको लागि सरकारी अस्पताल भरतपुरमा लगिएमा अहिले अवस्था सामान्य नै रहेको बुझिएको छ ।
टिप्पणीहरू