ज्वाइँका बारेमा अख्तियार मौन
पतञ्जली काण्डको रोचक पाटो

जग्गाको कारोबार गरेको १८ वर्षपछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई गुमराहमा पार्ने शालिकराम सिंह छिमेकी मुलुक भारत पुगेका छन् । नेपालमा २०६४ सालदेखि २०६६ सालसम्म जग्गा किनबेचसम्बन्धी गतिविधि गराएर राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रलाई समेत उथलपुथल बनाउने गरी सिंहले जग्गा कारोवारीसँग गरेको साँठगाँठ के हो ? खुल्दै जालान् । तर, अख्तियारले जसलाई मुद्दा नै दर्ता गर्न मिल्दैन थियो उसका नाममा मुद्दा लगेर मानसिक, सामाजिक त्रास उत्पन्न गराएको छ भने उक्त अभियानमा संलग्न एक जना कर्मचारीलाई छोइएको छैन ।
यो प्रकरण भएको १५ वर्षपछि छानबिन शुरु गरिएको थियो । मुद्दा चल्नै नपर्ने र नहुने भूमिसुधारका तत्कालीन महानिर्देशक केशरबहादुर बानिँया र मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका अधिकृत जनार्दन गुरागाईँ हुन् । जसले मन्त्रिपरिषद्को निर्णय मानेनन् र स्पष्टीकरण सोधिएपछि २४ घण्टे सरुवामा परे । तर, उनीहरूलाई पनि अख्तियारले मुद्दा चलाएको छ ।
तर, मालपोत कार्यालयमा हाट्टहुट्ट गर्ने तत्कालीन कर्मचारी हाल नापी विभाग धुलिखेल २८ किलोमा कार्यरत नायव सुब्बा रामकुमार थापा हुन् । उनलाई यस पटक छोइएको छैन । उनी गठबन्धन सरकार जोड्ने रसायन बनेका चर्चित व्यापारी रामेश्वर थापाका बहिनी–ज्वाइँ हुन् । जग्गाको लागि दबाब दिने पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका हर्ताकर्ता शालीग्राम सिंह हुन् । उनी मालपोत कार्यालय आएको बेला कर्मचारीहरू डरले थुरथुर हुन्थे ।
तत्कालीन सचिव छविराज पन्तले महानिर्देशक केशरबहादुर बानिँया र प्रमुख मालपोत अधिकृत जनार्दन गुरागाईलाई दिएको दबाब नमानेपछि नयाँ टिम तयार गरी सहसचिवहरू जितबहादुर थापा र लालमणि जोशीलाई लगिएको थियो । त्यहीबेला काभ्रेमा कार्यरत मोहनप्रसाद पराजुली यसअघि नै किर्ते अभियोगमा जेल सजायँँ भुक्तान गरी जागिरबाट अपदस्थ भइसकेका छन् । उक्त मुद्दामा काभ्रेपलाञ्चोक घर भएका १० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । तीमध्ये धुलिखेल–९ का मात्रै ५ जना छन् ।
जसमध्ये एक जना वडा अध्यक्ष हुन् । सोही वडाका विष्णुप्रसाद हुमागाईं र हरि हुमागाईं मालपोतमा कार्यरत थिए भने राजकुमार सिग्देल र माधव हुमागाईं गुठी संस्थानमा काम गर्थे । बनेपा घर भएका हरिशरण श्रेष्ठ र रोशकाजी जस्पाउ हुन् । पनौती खोपासीका विनोद कोइराला, बनेपा बाँस्डोलका रामप्रसाद सत्याल र भुम्लु घर भएका जीवरमण उप्रेती पनि छन् । तत्कालीन खरदार बद्रिप्रसाद हुमागाईंले तत्कालीन प्रधानमन्त्रीको आदेश मान्दा वडाध्यक्ष पद नै गएको प्रतिक्रिया दिएका छन् ।
मुद्दाको प्रादुर्भाव ‘नेकपा’
२०६९ मंसिर २५ गते अख्तियार बैठकको निर्णय नम्बर २०९ मा पतञ्जली योगपीठको काभ्रे जिल्लास्थित जग्गा बेचविखन गरेको साथै सनराईज बैंकमा धितो राखेको भन्नेसमेत उजुरी ब्यहोराउपर अनुसन्धान भई प्रस्तुत प्रतिवेदनउपर गरेको निर्णय हदवन्दीबाहेक अन्य विषयवस्तु आयोगको क्षेत्राधिकारभित्र नपर्ने भन्ने थियो । हदवन्दीका सन्दर्भमा भने अख्तियारले हेर्न सक्ने आशय उक्त निर्णयमा छ । । ५ वर्षभित्र खरिद गरिसक्नुपर्ने भन्ने नेपाल सरकारको निर्णय देखिँदा यसको रेकर्ड राख्न एवं अनुगमन गर्न जग्गा बिक्री भएको मालपोत कार्यालय काभ्रेलाई लेखी पठाई उजुरी फाइल तामेलीमा राख्ने निर्णय भएको थियो ।
यसपछि संविधानसभा निर्वाचन, संविधान निर्माण र पार्टी एकीकरण, महाधिवेशन, सत्ताको नेतृत्व, नेकपा गठन, विघटन, पार्टीभित्र एकले अर्काेमाथि गरेको कारबाही तथा विभिन्न प्रकरणकै क्रममा उक्त मुद्दा जगाइएको देखिन्छ । २०६४ सालदेखि २०६६ सालसम्म भएको जग्गा किनबेचसम्बन्धी प्रकरणको १५ वर्षपछि छानबिन शुरु गरिएको थियो । २०७८ माघ ११ गते भूमि ब्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालय काभ्रे तथा सबै जिल्ला कार्यालयलाई पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका नाममा भएको जग्गाको विवरण पठाउन निर्देशन दियो । ७ दिनको समय दिएर मागिएको विवरणअनुसार काभ्रेपलाञ्चोकमा कार्यरत कर्मचारीको डरले सात्तो गएको थियो ।
स्थानीयले विरोध गरेपछि प्लटिङ र माटो बिक्री रोकिएको जग्गाको नियत र कानुनबारे उठेका प्रश्नउपर संसदको लेखा समिति, अख्तियार र सिआइबीमार्फत छानबिन शुरु गरियो । तर, पतञ्जलीले खरिद गरेका जग्गा हाउजिङ्ग कम्पनीलाई बिक्री गरी माटो निकाल्न शुरु भएपछि मात्रै स्थानीयले ठगिएको चाल पाएका थिए ।
‘आयुर्वेद अस्पताल, गाई फार्मलगायत संरचना निर्माण गर्न सस्तो दररेटमा बिक्री गरिएको जग्गा हाउजिङ कम्पनीलाई बेचिएको थाहा पाएपछि साँगाका स्थानीयले जग्गा फिर्ताको माग गर्दै हाउजिङ्ग कम्पनीको माटो निकाल्ने कार्यमा अवरोध जनाएका थिए’, स्थानीयले भने । नेपालकै पालामा बालुवाटरको जग्गा पनि ब्यक्तिका नाममा गर्ने निर्णय भएको थियो । अन्यलाई कारवाही भए पनि उक्त प्रकरणमा माधव नेपालविरुद्ध मुद्दा दर्ता गरिएको थिएन ।
तर यो पटक अख्तियारले क्षेत्राधिकार नभएको भन्दै आफैँले गरेको निर्णय उल्टाएर प्रधानमन्त्री तहबाट गरिएको मन्त्रिपरिषद्को नीतिगत निर्णयविरुद्ध मुद्दा दर्ता गरेको छ । पतञ्जली आयुर्वेद कलेजका कार्यक्रममा हरेक समय माधव नेपाल नै प्रमुख अतिथि हुने गर्थे । ३ सय १२ रोपनी बिक्री गरेपछि पुनः उनै प्रधानमन्त्री नेपालले डेढ महिनाको अवधिमा २०६६ चैत्र ६ गते बिक्रीको अनुमति दिएका थिए । व्यक्ति वा कम्पनीले कानुनअनुसार ७५ रोपनीभन्दा धेरै जग्गा खरिद गर्न पाउँदैन ।
०६६ माघ १८ गते बसेको मन्त्रिपरिषद बैठकले हदवन्दी छुट प्राप्त गरी दाङ जिल्लामा ७५ बिघा, लमजुङमा ३ सय रोपनी, काठमाडौँ उपत्यकाभित्र १ सय ५० रोपनी, स्याङजामा २ सय ५० रोपनी, काभ्रेपलाञ्चोकमा ८ सय १५ रोपनी, चितवनमा १५ बिघा, धनुषामा २५ बिघा, बारा र पर्सामा ४० बिघा जग्गा खरिद गर्न र त्यसलाई बेचविखन गर्न नपाउने गरी स्वीकृत प्राप्त गरेको थियो । तर, काभ्रेपलाञ्चोकमा भने उक्त निर्णय हुनुअगावै २०६४ सालबाट २०६६ सालसम्म ५ सय ५७ रोपनी जमिन खरिद गरिएको थियो ।
कम्पनी रजिस्ट्रार कार्यालयको अभिलेख अनुसार काठमाडौं महानगरपालिका – ७ बौद्ध ठेगाना राखेर २० पुस २०६४ मा दर्ता भई हाल उक्त कम्पनीमा योगी रामदेव, बालकृष्ण आचार्य, शालिग्राम सिंह, राजेन्द्र सिंह र उमेश सर्राफ सञ्चालक छन् । नेपालमा पतञ्जलीका सबै कारोबारमा पतञ्जली नेपालका तर्फबाट शालिग्राम सिंहले काम गरिरहेका छन् । २०६६ मा हदबन्दी छुटमा जग्गा किन्दा र बिक्री गर्दा पनि उनीमार्फत नै कारोबार भएको अभिलेखबाट खुलेको छ ।
खरिद गरिएको ५ सय ५७ रोपनीमध्ये महेन्द्रज्योती र साँगातर्फको ३ सय १२ रोपनी १५ आना जग्गा बिक्री गरिसकिएको छ । त्यसलगत्तै हाल धुलिखेल ३ मिराबेल होटल तल साविक श्रीखण्डपुरका नाममा ३६ कित्ता ८८ रोपनी खरिद गरिएको छ । ३ सय १२ रोपनी १५ आना १ पैसा ३ दाम जग्गा २०६७ असार २१ देखि २०६७ साउन ५ सम्म बिक्री गरिसकिएको छ । उक्त जग्गा ३ करोड ३८ लाख रुपैयाँमा खरिद गरिएको र ३३ करोड ६४ लाख ४० हजार ७१ रुपैयाँमा बिक्री गरेको देखाइएको छ ।
धुलिखेलको ८८ रोपनी जग्गा र त्यहाँ भएका संरचना ८५ लाखमा खरिद गरिएको नक्कली कागजात तयार गरिएको छ । जबकि धुलिखेल सदरमुकाममा १ लाख रुपैयाँ रोपनीमा जग्गा पाउन सम्भव छैन । आनाको १ लाख रुपैयाँमा पनि जग्गा नपाउने स्थानमा कम दरमा जग्गा खरिद गरिएको देखाइएको छ ।
टिप्पणीहरू