प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् कार्यसूची
शुक्रबारदेखि सुचारु भएको प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा ११ बजेका लागि तय भएको बैठकमा चारवटा सम्भावित कार्यसूची छन् ।
संसद सचिवालयका अनुसार राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने पहिलो कार्यसूची रहेको छ । त्यस्तै, संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८२ पेश हुनेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेश गर्ने कार्यसूचीमा उल्लेख छ । त्यसपछि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२-०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । त्यसपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानविन समिति गठनको माग गर्दै जेठ १३ गतेदेखि विपक्षीहरूले सदन अवरोध गर्दै आएकोमा शुक्रबार सत्तारुढ दल र माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमतिपछि प्रतिनिधिसभा सूचारु भएको थियो । रास्वपा र राप्रपाको विरोधका बाबजुत चलेको बैठक आजदेखि नियमित कार्यसूचीमा प्रवेश गर्न लागेको हो ।

टिप्पणीहरू