सभामुखसँग लिङ्देन र अर्यालको छलफल, संसद बैठक बस्न ढिलाइ

सभामुखसँग लिङ्देन र अर्यालको छलफल, संसद बैठक बस्न ढिलाइ

सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउन प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग छुट्टाछुट्टै छलफल गरेका छन् । 

रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई कार्यकक्षमा बोलाएर सभामुखले छलफल गरेका हुन् । सत्ता पक्षसँग सहमति गरेर सदन चलाउने वातवरण मिलाउन सभामुखले आग्रह गरेको अर्यालले जानकारी दिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको अडानमा रहेका रास्वपा र राप्रपाले सदन अवरोध गर्दै आएका छन् । उच्चस्तरीय छानविन समिति नबनेसम्म अवरोध कायम रहने जवाफ सभामुखलाई दिएको अर्यालले बताए ।

‘माओवादीले सहमतिको भाषा मिलाएर जसरी सभा सञ्चालन गर्नको लागि वातावरण बनाएको छ, त्यसरी हामीलाई पनि सहमतिमा पुग्नुपर्यो भन्नुभयो’, छलफलपछि सञ्चारकर्मीसँग उनले भने, ‘तर मैले हाम्रो प्रस्ताव पूरा हुने सुनिश्चित नहुँदासम्म अडानबाट पछि नहट्ने जानकारी गराएको छु ।’

सभामुखसँग भेटपछि रास्वपा आन्तरिक छलफलमा जुटेको छ । बिहान ११ बजे बस्ने भनेको प्रतिनिधिसभा बैठक बैठक अहिलेसम्म शुरु भएको छैन । 

अर्यालसँग छलफल गर्नुअघि सभामुख घिमिरेले राप्रपाका अध्यक्ष लिङ्देनसँग पनि आधा घण्टा कुराकानी गरेका थिए । शुक्रबार माओवादी केन्द्रले सदन खुलाउन सत्तापक्षसँग दुई बुँदे सहमति गरेपछि विपक्षीहरु दुई कित्तामा विभाजित भएका छन् ।
 

टिप्पणीहरू