संसदमा रास्वपालाई प्रश्न : सभापति जेलमा भएको पार्टीले नैतिकताको कुरा गर्न मिल्छ ?

भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानविन समिति गठनको माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि नै नैतिकताको प्रश्न उठेको छ ।
रास्वपाका सांसदहरुको अवरोधका बीच जारी प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका सांसदहरुले सहकारी काण्डमा जेल परेका रवि लामिछानेले सभापति र दलको नेताको पद नछोडेको भन्दै त्यस्तो पार्टीले अरुलाई नैतिकता सिकाउन नमिल्ने बताए । कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले कर्मचारीले गरेको बदमासीमा गृहमन्त्री लेखकलाई दोषी देखाएर राजीनामा मागिएको भन्दै आपत्ति जनाए ।
'अख्तियारले छानबिन गरिरहेको विषयमा गृहमन्त्रीको राजीनामा माग्दै होहल्ला गर्दै आएका छन् । कर्मचारीमाथि छानबिन भइरहेको विषयमा नैतिकताको आधारमा मन्त्रीको राजीनामा माग्ने साथीहरूले पाँच/पाँचवटा अदालतमा सहकारी ठगी सम्पत्ति शुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेका र सर्वोच्च अदालदतल थुनामा राखे पूर्पक्ष गर्न पठाएको व्यक्ति आफ्नो पार्टीको सभापति पदमा विराजमान गराइराख्ने कुन नैतिकताले दियो?,' उनले भने, 'अहिले पनि निर्वाचन आयोगको सूचीमा रास्वपाको सभापतिम रवि लामिछानेकै जो जेलमा हुनुहुन्छ । उहाँ नै सभपति पदमा हुनुहुन्छ त्यो पार्टीले अहिले कसैलाई नैतिकताको पाठ सिकाउन मिल्छ कि मिल्दैन? मेरो यो प्रश्न छ ।'
अरुसँग नैतिकता खोज्ने रास्वपाका सांसद आफैँले नैतिकता प्रस्तुत गर्न घिमिरेले आग्रह गरे । त्यस्तै कांग्रेसकै अर्का सांसद नागिन यादवले पनि रास्वपासँग अरुलाई प्रश्न उठाउने नैतिक बल नभएको बताइन् ।
'रास्वपाको सभापति रवि लामिछानेको पाँच वटा जिल्लामा अहिले पनि सहकारी ठगीको मुद्दा विचाराधीन छ । उहाँमाथि तीन-तीन वटा मुद्दा लगाइएको छ । उच्च अदालतले आदेशलाई सर्वोच्चले सदर गरेको अवस्था छ', उनले भनिन्, 'उहाँका पार्टीका सभापति सहकारीमा मात्र हैन नागरिकता र राहदानी काण्डमा परेर पहिले पोष्ट पनि निलम्बन भैसकेको हो । उहाँको पार्टीका माननीयहरुले अरुलाई नैतिकताको पाठ पढाउनु हुन्छ तर उहाँ आफ्नो सभापति कस्तो हो, कस्तो स्कुलिङबाट आएको हो भन्ने थाहा पाउनुहुन्न ।'
रविले आजको मितिसम्म पनि संसदीय दलको नेता र पार्टी सभापति पदबाट राजीनामा नदिएको भन्दै सांसद यादवले काँग्रेसलाई नैतिकताको प्रश्न नगर्न चेतावनी दिइन् । आक्रोशित हुँदै सोधिन, 'काण्ड नै काण्डले भरिएका व्यक्तिको नेतृत्वमा बस्ने सांसदहरुले कसलाई नैतिकताको प्रश्न उठाएको ?'
टिप्पणीहरू