वैदेशिक रोजगारीमा पनि भरतपुर अग्रणी
‘स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं’ भनिँदै आएको छ । अब सीप तालिम नलिई श्रम स्वीकृति नै नहुने गरी आप्रवासन नीतिको मस्यौदा तयार भइरहेको चितवनमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका जिल्ला संयोजक सूर्यप्रसाद पौडेलले बताए ।
नेपालमा स्वीस सरकारको सहयोगमा सञ्चालित सामी कार्यक्रमले वैदेशिक रोजगारीका निम्ति आवश्यक सूचना, परामर्श र तालिमहरुसमेत दिएर सहजीकरण गर्दै आएको छ । श्रम स्वीकृति लिएर विदेश जानेलाई विदेशमा पनि कुनै समस्या वा अप्ठेरो पर्दा र यता तिनका परिवारलाई पनि विभिन्न तवरले सघाउँदै आएको छ ।
नेपालबाट हाल दैनिक सरदर दुईहजार भन्दा बढी मानिस वैदेशिक रोजगारीमा गइरहेको अवस्था छ । वैदेशिक रोजगारीमा जानेको संख्या प्रत्येक वर्ष बढि नै रहेको छ । हरेक साल फर्कनेभन्दा जाने नै बढी छन् । नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या अहिले ७१ लाख नाघिसकेको तथ्यांक सार्वजनिक भएको छ । यो बाहेक भिजिट भिसा, स्टुडेन्ट भिसा र अन्य गैरकानुनी बाटोबाट जाने अरु पनि छन् ।
बागमती प्रदेशबाट सबै भन्दा धेरै वैदेशिक रोजगारीमा जानेहरु चितवनका छन् र चितवनको पनि भरतपुर महानगरपालिकाबाट धेरैजना श्रम गर्न विदेश गइरहेको अवस्था छ ।चितवनमा सञ्चालित सामी कार्यक्रमले यस आर्थिक वर्षमा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाहरुलाई साउनदेखि वैशाखसम्म एक करोड ४७ लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरेको जनाएको छ । यसमा भरतपुरमा मात्रै ४८ लाख रुपैयाँ वितरण भएको जानकारी दिइएको छ । श्रम स्वीकृति लिएर गएकाहरुको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएमा नेपाल सरकारबाट रु. १० लाख क्षतिपूर्ति पाउने व्यवस्था अहिले भएको छ, यसअघि मंसिरसम्म रु. सात लाख थियो ।
चितवनमा यस आर्थिक वर्ष २०८१÷०८२ मा विदेशबाट ३८ वटा शव झिकाउने कार्य भएको पनि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका जिल्ला संयोजक सूर्य पौडेलले जानकारी दिए । त्यसमा १५ वटा शव भरतपुरको रहेको जनाइएको छ । यही २०८२ सम्म श्रम स्वीकृति नभएका वा पुनः श्रम स्वीकृति नलिएका २९ वटा शवको पनि निःशुल्क ढुवानी गरिएको सामी कार्यक्रमले उल्लेख गरेको छ, जसमा भरतपुरका १६ वटा शव रहेको जानकारी गराइएको छ ।
वैदेशिक रोजगारीको क्रममा विदेशमा हराएका वा सम्पर्कविहीन भएका चितवनका १६ जनाको खोजी भइरहेकोमा भरतपुरका ६ जना रहेको पनि सुरक्षित आप्रवासन कार्यक्रमले जनाएको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा नेपाली कामदारहरु बिरामी र अंगभंग भएको अवस्थामा दिइने सहायतातर्फ यस आर्थिक वर्षको अहिलेसम्म चितवनमा आठजनालाई ४० लाख २५ हजार रुपैयाँ दिइएको बताइन्छ । त्यसमा भरतपुरका दुईजनालाई १२ लाख २५ हजार रुपैयाँ प्रदान गरिएको जिल्ला कार्यक्रम संयोजक बताउँछन् ।
पारिवारिक स्वास्थ्य उपचारतर्फ माडीका पाँचजनालाई दुईलाख ३० हजार, भरतपुरका तीन जनालाई एकलाख ५० हजार र रत्ननगरका सात जनालाई तीनलाख ३० हजार रुपैयाँ उपलब्ध गराइएको उनले बताए । श्रम स्वीकृति लिएर विदेश जानेको परिवारका मान्छेलाई सरकारले विभिन्न पाँचवटा रोग क्यान्सर, मुटुरोग, मृगौलाफेल, अल्जाइमर्स र पार्किन्सन भएमा रु. ५० हजारसम्म आर्थिक सहायताको व्यवस्था गरेको छ ।
वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका र पूर्ण अंगभंग भएका वा फर्किएको एक वर्षभित्र मृत्यु भएकाको बालबच्चालाई पढ्नको लागि भनेर कक्षा ८ सम्म १२ हजार र कक्षा १२ सम्म १६ हजार रुपैयाँ वार्षिक छात्रवृत्ति दिने गरिएको पनि सामी कार्यक्रमले बतायो । यसवर्ष चितवनमा ९८ जनालाई यो छात्रवृत्तिको व्यवस्था भएको सामीले बताएअनुसार छात्रवृत्ति पाउनेमा भरतपुरका ५५ जना छन् ।
श्रम स्वीकृति लिएर विदेश जाँदा कल्याणकारी कोषमा जम्मा गरिने रु. १५ सयबाट यी कल्याणकारी सुविधाहरु नेपाल सरकारले उपलब्ध गराउँदै आएको हो । अब उक्त रकम महिलाहरुले चाहिँ जम्मा गर्न नपर्ने र फिर्ता पाउने व्यवस्था भएकोसमेत संयोजक पौडेलले बताए ।
आप्रवासी स्रोत केन्द्रमा परेका निवेदनमा मृत्यु, उद्धार, जेल, स्वास्थ्योपचार र आर्थिक सहायता सम्बन्धी ३४ प्रतिशत र वैदेशिक रोजगारी सम्बन्धी ठगीका उजुरी ६६ प्रतिशत रहेको बताइन्छ । सामी कार्यक्रमले लिएका वैदेशिक रोजगारी सम्बन्धी मुद्दाहरुमा पीडित र पीडक पक्षलाई मेलमिलाप गराउने, मेलमिलाप हुन नसक्ने र म्यानपावरसँग सम्बन्धित मुद्दाहरुलाई वैदेशिक रोजगार विभागमा पठाउने गरेको बताएको छ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम चितवनले हिजो दिउँसो भरतपुरमा पत्रकारहरुसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो । सामी कार्यक्रमले गरेका काम र त्यसको प्रभावबारे जानकारी गराउन कार्यक्रम आयोजना गरिएको भरतपुर महानगरपालिकाकी स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख, निर्देशक शान्ताकुमारी पौडेलले बताइन् । कार्यक्रमकी फोकल पर्सन पञ्चमाया तामाङका अनुसार गत शुक्रबार प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका प्रहरीहरुसँग पनि छलफल आयोजना गरिएको थियो ।
पत्रकारहरुसँगको कार्यक्रममा श्रीमान् वैदेशिक रोजगारमा रहेको अवस्थामा सामीबाट सञ्चालित वित्तीय साक्षरता कार्यक्रम र परामर्श सेवाबाट लाभान्वित महिलाहरुले त्यसबाट आफ्नो र परिवारको जीवनमा आएको सकारात्मक परिवर्तनबारे समेत खुलेर बताए । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले विकास होस् या आप्रवासनमा पनि भरतपुर महानगरपालिका अगाडि नै रहेको भन्दै भने, ‘श्रम स्वीकृति नलिई विदेश जानै हुन्न भन्ने सबैले थाहा पाउनुप¥यो ।’
टिप्पणीहरू