दुर्गा प्रसाईंको ‘आओ आओ’ भिडियो खिच्ने युट्युबरलाई अदालतको साथ

चैत १५ गते तीनकुनेमा भएको राजावादी हिंसात्मक प्रदर्शनका क्रममा गाडीभित्र बसेर दुर्गा प्रसाईंको भिडियो खिच्ने युट्युबर छुटेका छन् ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश रेशराज शर्माको इजलासले आज नेपाल पुकार युट्युब च्यानलका सञ्चालक प्रकाशचन्द्र दाहाललाई पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको हो । तीनकुने हिंसाका मुख्य आरोपी प्रसाईंको गाडीभित्रबाट भिडियो खिचेका उनीविरुद्ध चार वटा कसूरमा मुद्दा दर्ता भएको थियो ।
‘निज प्रतिवादीले पत्रकारिताको पेशागत कार्यअन्तर्गत मिति २०८१–१२–१५ गतेको जनविद्रोह घोषणा सभास्थललगायतका स्थलको प्रत्यक्ष प्रशारणसम्म गरेको देखिएको अवस्थामा निजलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्नेसम्मको अवस्था नदेखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाललाई यी प्रतिवादी प्रकाशचन्द्र दाहालबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम पाँच हजार रुपैयाँ धरौटी वा सो बराबरको जेथा जमानत वा बैंक ग्यारेन्टी दिए मुद्दा पुर्पक्षका लागि तारेखमा राख्नु’, आदेशमा भनिएको छ ।
तीनकुने प्रकरणमा प्रसाईंसहित ६१ जनाविरुद्ध मुद्दा दर्ता हुँदा दाहाल पनि परेका थिए । उनीविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको थियो । घटनालगत्तै फरार उनी आज अदालतमा उपस्थित भएका थिए ।
तीनकुनेमा राजावादीहरुको आन्दोलनका क्रममा प्रसाईं बानेश्वरतर्फ आफ्नो गाडीमा बसेर आन्दोलनकारीहरुलाई ‘आओ आओ’ भन्दै उक्साइरहेको भिडियो दाहालले नै खिचेका थिए ।
टिप्पणीहरू