पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक रुट प्रयोग गर्न अनुरोध
पूर्वीनवलपरासीमा वर्षात् र बाढीले पूर्वपश्चिम राजमार्गमा अवरोध भएपछि वैकल्पिक रुट प्रयोग गर्न अनुरोध गरिएको छ । हालको दिनमा वर्सातको कारणले नारायणगढ–बुटवल खण्डको विनयी खेलामा पानीको सतह बढ्न गई डाइभर्सनमा क्षति पुगेपछि सवारी आवागमनमा समस्या भएको हो ।
निरन्तर वर्षाका कारण दुम्कीबास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोला लगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने भई आवागमन असहज भएको पनि जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जानकारी गराएको छ ।
सकेसम्म अहिले सो क्षेत्रबाट यात्रा नगरी वैकल्पिक मार्गबाट सवारी संचालन गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयले आज सूचना निकालेर पूर्वबाट पश्चिम जाने सवारी साधनलाई नारायणगढ, मुग्लिङ, पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्य स्थानमा जान भनेको छ । काठमाडौंबाट पश्चिम जाने सवारी साधनलाई पनि मुग्लिङ, पोखरा, स्याङ्जा, बुटवल हुँदै जान भनिएको छ ।
यसैगरी, पश्चिमबाट पूर्व जाने सवारी साधनको हकमा पनि बुटवल, स्याङ्जा, पोखरा, मुग्लिङकै बाटोबाट यात्रा गर्न सुझाइएको छ । साना सवारी साधनको हकमा अवस्था बुझेर कालीगण्डकी करिडोर अन्तर्गत गैंडाकोट, पिपलडाँडा सडक खण्डबाट यात्रा गर्नु हुन अनुरोध गरिएको डीएसपी नेपालले बताए ।
टिप्पणीहरू