हमलाहरुको एमालेले डटेर प्रतिकार गर्ने

हमलाहरुको एमालेले डटेर प्रतिकार गर्ने

नेकपा एमालेमाथि भइरहेको हमलाहरुको डटेर प्रतिकार गर्ने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताउनुभएको छ । 

नेकपा एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउन विभिन्न कोणहरुबाट भइरहेको हमलाको प्रतिरोध र प्रतिकार गर्ने पोखरेलले बताउनुभयो । नेकपा (एमाले) धादिङको नवौंँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो–‘हाम्रो पार्टीको राष्ट्रवादी अडानलाई कमजोर बनाउनको लागि हामीमाथि हमला भइरहेको छ । त्यसको हामीले प्रतिकार गरिरहेका छौं । अझै एकजुट त्यसको प्रतिवाद गर्नुपर्छ ।’

‘नेकपा एमाले जन्मसिद्ध र वंश परम्परामा आधारित शासन सत्ताको विपक्षमा छ । अनिर्वाचित शासन सत्ता चलाउने कुराको विपक्षमा छ । एमाले लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको पार्टी हो । यसमा कोहीसँग सम्झौता हुँदैन’,पोखरेलले भन्नुभयो ।

नेकपा एमाले संविधानको सर्बाेच्चता र कानूनी शासनको पक्षमा रहेकोले आफुहरुमाथी हमला भइरहेको पनि कार्यकर्तामाझ स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो–‘एमाले विकास र समृद्धिको पक्षमा छ । एमाले सामाजिक सद्भावको पक्षमा छ । त्यस कारण हामीमाथि हमला भएको हो ।’

आफ्ना कमी कमजोरी सुधार गरेर पार्टीमाथि भएका हमलाको एकतावद्ध भएर प्रतिकार गर्न कार्यकर्ताहरुलाई पोखरेलले सुझाव दिनुभयो । बरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुक समृद्ध बनाउनका लागि एमालेलाई  निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने र त्यसमा पार्टी नेता, कार्यकर्ताको योगदान जरूरी रहेको बताउनुभयो । 

कार्यक्रममा एमाले जिल्ला कमिटी धादिङका अध्यक्ष भूमिप्रसाद त्रिपाठीले पार्टीको संगठन,सदस्यता तथा जिल्लामा अन्य पार्टीको उपस्थितिको विश्लेषणसहितको राजनीतिक तथा साँगठनिक प्रतिवेदन पेश  गर्नुभयो । 

प्रथम प्रतिनिधि परिषद उद्घाटन समारोहमा नेकपा एमाले केन्द्रीय सदस्य खेमप्रसाद लोहनी,जानुका सिंखडा, केन्द्रीय सल्लाहकार परिषद सदस्य जगन्नाथ नेपाल, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाल लगायतले नेकपा एमालेको आगामी योजना र आगामी निर्वाचन रणनीति, जनसम्पर्क अभियान तथा विचारधारात्मक स्पष्टता विषयमा आफ्ना धारण राखेका थिए । पार्टीको नीति र कार्यक्रमलाई अझ जनमुखी र प्रभावकारी बनाउने प्रस्तावहरू पनि पारित गरिएको छ ।

प्रतिनिधि परिषद्ले दिएको मार्गदर्शन अनुसार आगामी दिनमा एमालेले सांगठनिक सुदृढीकरण र वैचारिक स्पष्टता दुवैलाई सशक्त बनाउने नेकपा एमाले धादिङकी सचिव राधिका सापकोटाले बताउनुभयो । प्रतिनिधि परिषदमा एमालेका पुराना नेताहरुलाई सम्मान गरिएको छ ।

टिप्पणीहरू