काठमाडौँमा आरक्ष पीडितको भोक हड्ताल

काठमाडौँमा आरक्ष पीडितको भोक हड्ताल

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएका पीडितहरु फेरि सडक संघर्षमा उत्रिएका छन् ।

आरक्ष विस्तारका क्रममा विस्थापित भएको साढे २ दशकसम्म पनि राज्यले आफूहरुको उचित व्यवस्थापन नगरेको गुनासो गर्दै पटक-पटक सडकमा आएका पीडितहरूले आजदेखि अनशनमा शुरु गरेका हुन् । माइतीघर मण्डलाको विस्तारित सडक खण्डमा 'भोक हड्ताल कार्यक्रम २०८२' लेखिएको कालो ब्यानर टाँगेर उनीहरु अनशनमा छन् ।

नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य तथा आरक्ष पीडित केन्द्रीय संघर्ष समितिका अध्यक्ष कर्ण बहादुर चन्दको अगुवाइमा भएको विरोध कार्यक्रममा सचिव प्रेमद्वन्द भट्ट, जिल्ला अध्यक्ष जयबहादुर रोकायलगायत सहभागी छन् । अनसनस्थलमा टांगिएको ब्यानरमा  'खोसिएको सम्पत्ति  फिर्ता गर', 'आरक्ष पीडितको ३ शुत्रीय माग पूरा गर', '३४औँ आयोगले दिएको प्रतिवेदनको अनुसूची (ठ) लागू गर', 'दिवान सिंह बिष्टको पालामा विद्यानाथ अधिकारीले तोक लगाएको प्रतिवेदन पास गर', 'सुरेन्द्र बमको प्रतिवेदन कार्यन्वयन गर' जस्ता नारा लेखिएका छन् । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएको यत्रो लामो समय बितिसक्दा पनि पीडितहरुले स्थायी समाधान पाउन सकेका छैनन् । वि.सं २०५८ मा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा यहाँको बस्ती विस्थापित भएको थियो ।

काठमाडौँ आएर धेरैचोटि सरकारलाई खबरदारी गरिसकेका पीडितहरुले कम्तिमा १० कठ्‌ठा जमिन र २३ वर्षसम्मको क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । आफूहरुको घर र गोठ जलाएर उठिबास लगाइएको भन्दै त्यसको उचित भर्पाइ राज्यले दिनुपर्ने तर्क उनीहरुको छ ।

टिप्पणीहरू