यतिसम्म झूठ बोल्ने हाकिम अरु को होला नेपालमा ?
विभागको महानिर्देशकजस्तो उच्च जिम्मेवारी सम्हालिसकेका एक सरकारी अधिकारीले सञ्चार माध्यममार्फत झूठो र अफवाहपूर्ण प्रचार गरेका छन् ।
विवादित पतञ्जली जग्गा व्यवस्थापन प्रक्रिया अघि बढेको बेला भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक रहेका केशरबहादुर बानियाँले नचाहिँदो हल्ला मच्चाएका हुन् । नियमित अवकाशमा गए पनि सरकारी निर्णय र निर्देशनको विरोध गर्दै राजीनामा दिएको तथा आफैंले पठाएको पत्र अरुले पठाएको भनी दिउँसै रात पार्ने प्रयास गरेको प्रमाण भेटिएको छ ।
पतञ्जली प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्ने चर्चा चल्दै गर्दा बानियाँले ‘पतञ्जलीमा सरकारी निर्णय नमानेपछि स्पष्टिकरण सोधियो, अनि राजीनामा दिएँ’ भनी प्रचार गराएका थिए । तर,उनले महानिर्देशकको पदबाट राजीनामा दिएको नभई उमेर हदका कारण स्वत: अवकाश पाएका हुन् ।
राष्ट्रिय किताबखाना (निजामती) को विवरणमा कर्मचारी संकेत नम्बर ९१३४४,पूरा नाम केशरबहादुर बानियाँको अनुमानित अवकाशको मिति २०६७।०२।३० उल्लेख छ । जसमा अवकाशको उमेर ५८ वर्ष तोकिएको छ र उनले यसबमोजिम नै भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक पदबाट अवकाश लिएको विवरणबाट खुल्छ ।
तर, उनले भने २०६६ चैत ६ को पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनीसम्बन्धी निर्णय कार्यान्वयनको लागि भूमिसुधार तथा व्यवस्था मन्त्रालयको च.नं. १५३८ पत्र भूमिसुधार व्यवस्थापन विभागमा पठाएकोमा यसको विरोध गर्दै पदबाट राजीनामा दिएको दावी गरेका छन् । त्यसो भन्दै बानियाँले सञ्चारमाध्यममा अन्तर्वार्ता नै दिए । जबकि अवकाशको अघिल्लो दिन २०६७ जेठ २८ गतेसम्म जागिर खाएका उनले विभागको हाजिरी रजिष्टरमा बकाइदा सही धस्काएको देखिन्छ ।
यसैगरी,भूमि सुधार तथा व्यवस्थापन मन्त्रालयले प्रष्टिकरण सोध्दै बरण्डामा सरुवा गरेको र केही समय त्यहीं बसी दुई वर्ष सेवा अवधि बाँकी हुँदै पद छोडेको पनि उनले उल्लेख गरेका छन् । तर, न उनको दुई वर्ष कार्यावधि बाँकी थियो न मन्त्रालयले सरुवा नै गरेको हो । बरु उनले पूरै अवधि महानिर्देशककै रुपमा जिम्मेवारी वहन गरी नियमित अवकाश लिएका थिए ।
पतञ्जली जग्गा सम्बन्धमा मन्त्रिपरिषदबाट भएको निर्णय कार्यान्वयन गर्न मालपोत कार्यालय काभ्रेपलाञ्चोकलाई पत्र नलेखेको अनि २०६६ चैत २७ गते आफूलाई हटाएर जीतबहादुर थापालाई महानिर्देशकको जिम्मेवारी दिनासाथ थापाले हाजिर भएकै दिन पत्र पठाएको पनि सार्वजनिक गरेका थिए । यसमा पनि बानियाँले झूठ बोलेको ठहरिन्छ, किनकि जेठ २८ सम्म महानिर्देशकका रुपमा विभागमा कार्यारत रहेको कागजातले प्रष्ट पारिसकेको छ ।
उनले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्दिन भन्दै मन्त्रालयलाई पत्र पठाएपछि प्रष्टिकरण सोधिएको र त्यसपछि राजीनामा दिएको भनी दिएको अभिव्यक्ति तत्कालीन नेतृत्वलाई फसाउने र आफू पानीमाथिको ओभानो बन्ने मनशायले आएको पुराना कागजपत्र र विवरण हेर्दा छर्लंग हुन्छ ।






टिप्पणीहरू