पिपलको बोटले चम्काएको व्यापार
- आशिका लम्साल
पछिल्लो समय मुलुकभर कंक्रिटको शहर बनाउने होडबाजी चलेको छ । कंक्रिटको शहरलाई नै विकासको मापदण्डसँग दाँज्न थालिएको छ । विकासको नाममा रुख–विरुवा फडाँनी गर्ने क्रम ह्वात्तै बढेको छ । मोरङको विराटनगर महानगरपालिका–९ स्थित पुरानो ग्रुद्री बजारमा रहेको एक चिया पसल भने पिपलको बोटको कारण चर्चित छ ।
युवा अरुण सहनीको चिया पसल पुरानो पिपलको रुखको छहारीमा सञ्चालित छ । छहारीकै कारण उक्त चिया पसल व्यापक चर्चामा छ । मानिसहरुले खुल्ला ठाउँ रुचाउने भएकाले उनको चिया पसल राम्रो चलेको छ । जाडो होस् या गर्मी, उनको चिया पसलमा ग्राहकको भीड हुन्छ । रुख वरपर राखिएका मुढामा बसेर सबै तहकाले चियाको चुस्की लिएको देखिन्छ ।
शीतल छहारीमा बसेर चिया पिउँदै राजनीतिदेखि आफ्नो व्यवसाय र समस्याबारे छलफल गर्नेहरुको त्यहाँ बिहानैदेखि भीड लाग्छ । पिपलकै छहारीका कारण सानो लगानीमा खोलिएको अरुणको चिया पसलले मनग्य आम्दानी मात्रै गरेको छैन, विराटनगरमा चर्चित छ । अरुणका बुवा रामविलासले वर्षौ पहिले एउटा सानो चिया पसल थापेका थिए ।
सोही पसललाई अरुणले २०५३ सालदेखि चलाउन थाले । मिठो चिया भएपनि साँघुरो गल्लीका कारण पसल खासै चलेको थिएन । पाँच वर्षअघि महानगरले नयाँ भौतिक संरचना बनाउने भन्दै पुरानो गुद्री बजार खाली गरायो र संरचनाहरु पनि भत्कायो । बजार बसपार्क नजिकै सर्यो ।
अरुणको चिया पसल भने त्यहीँ रहेको खुल्ला ठाउँमा जोगिएको पुरानो पिपलको रुखको छहारीमा सञ्चालन हुन थाल्यो । प्रशस्त खुल्ला ठाउँ रहेको र पिपलको छहारीसमेत भएकोले चिया पसलमा भीड बढ्न थाल्यो । अरुणले हाल दैनिक पाँच सय कपभन्दा पनि बढी चिया बेच्छन् । एउटै व्यक्तिले तीन कपसम्म चिया पिउने गरेका छन् ।
भन्छन्,‘महानगरपालिकाले नयाँ संरचना बनाएर नहटाएसम्म पिपलको छहारी त हाम्रो लागि बरदान नै भएको छ ।’ त्यहाँ २५ तले व्यापारिक भवन बनाउने महानगरको तयारी छ । तर, हालसम्म निर्माण कार्य शुरु नभएकाले पिपलको बोट जोगिएको छ । रुख मासिएपछि अरुणको चिया पसल अन्तै सानुपर्ने अवस्था आउने निश्चित छ ।
शहरी क्षेत्रमा रुखले व्यापार व्यवसायलाई बाधा पुर्याउँछ भन्ने भ्रम व्याप्त छ । त्यसैले धेरैले आफ्नो पसल अगाडिको बोटबिरुवा काट्ने गरेका छन् । तर, विराटनगरमा रुखकै कारण धेरैको सानो परिमाणको व्यापार चम्किएको छ । विराटनगरका हरियाली अभियन्ता पारुल क्षेत्री भन्छन्,‘शहरमा रुख संरक्षण गर्यो भने व्यापारलाई पनि फाइदा हुन्छ भन्ने राम्रो उदाहरण हो पिपलको शीतल छहारीमूनिको अरुणको चिया पसल ।’
टिप्पणीहरू