फोहोर बोक्ने गाडी सफा राख्नुपर्ने
काठमाडौं महानगरपालिकाले सवारीसाधन व्यवस्थित गरेर मात्र फोहोरमैला ढुवानीमा प्रयोग गर्न आग्रह गरेको छ । महानगरको वातावरण व्यवस्थापन विभागले आज सूचना जारी गर्दै फोहोरमैला ढुवानीमा व्यवस्थित सवारीसाधनको प्रयोग गर्न अनुरोध गरेको हो ।
विभागले उपत्यकाको फोहोरमैला अन्तिम विसर्जन हुने बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साईटमा फोहोर बोक्ने सवारीसाधनहरुको अनुगमन गरेको थियो । सो क्रममा लिचेट ट्याङ्की नराखिएको, गाडीहरु सरसफाइ नगरिएको, त्रिपाल राम्रोसँग नबाँधिएको पाइएको विभागले जनाएको छ ।
सूचनामा भनिएको छ, ‘काठमाडौं उपत्यकाको फोहोरमैला अन्तिम विसर्जन हुने स्थल बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साईटमा फोहोरमैला ढुवानी गर्ने सवारीसाधनमा अनुगमनको क्रममा लिचेट ट्याङ्की नराखिएको, गाडीहरु सरसफाइ नगरिएको, त्रिपाल राम्रोसँग नबाँधिएको पाइएको हुँदा सम्बन्धित सम्पूर्ण सरोकारवालालाई फोहोरमैला ढुवानी गर्ने सवारीसाधन व्यवस्थित गरी मात्र ढुवानी कार्यमा प्रयोग गर्न गराउन जानकारी गराइन्छ ।’
टिप्पणीहरू