‘युद्ध युद्ध नै हुन्छ’ सुनेपछि मन्त्रीद्वारा अध्यक्षको प्रशंसा

‘युद्ध युद्ध नै हुन्छ’ सुनेपछि मन्त्रीद्वारा अध्यक्षको प्रशंसा

कवि तथा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीद्वारा लिखित ‘युद्ध युद्ध नै हुन्छ’ कविता संग्रह लोकार्पणमा मन्त्रीले उनको प्रशंसा गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अध्यक्ष अधिकारीको साहित्यिक योगदानको खुलेर चर्चा गरेका हुन् । अधिकारीका साहित्यिक रचनाले नेपाली समाजलाई सही दिशामा लैजान महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरेका छन् ।

‘यस कविताले समाजलाई सही दिशामा लैजान मद्दत पुर्याउनेछ । किनकि युद्ध घातक, विनाशकारी र गलत छ । युद्धले कसैलाई जिताउँदैन र समाजको हितमा पनि हुँदैन । कविता संग्रहले कसरी सकारात्मक बाटोमा हिँड्न सकिन्छ भन्ने उदाहरण दिएको छ’,मन्त्री पाण्डेले भने ।

मन्त्री पाण्डेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कवि तुलसी दिवस, विश्वविमोहन श्रेष्ठ, चलचित्र निर्देशक प्रकाश सायमी र अधिकारीले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै चलचित्रकर्मी सायमीले अधिकारीको कविता तुलनात्मक रुपमा सरल भएको बताए ।

अधिकारीको साहित्यिक योगदानको तारिफ गर्दै उनले सुनाए,‘यति मिठो कविता पढ्न पाएको ४० वर्ष पछाडि हो । उहाँको कविता पूर्वको आञ्चलिकता र सरल खालको छ ।’ कवि अधिकारीले जीवनको भोगाइका उतारचढावको अनुभव कवितामा समेटेको बताए ।

साहित्यले भुइँ टेकेको हुनुपर्ने उल्लेख गर्दै आफ्नो जन्मथलो इलामले कविता लेखनमा प्रेरित गरेको लेखक अधिकारीको भनाइ छ । ‘समाजमा देखेको र भोगेको कुरा लेखेको हुँ । मेरो जन्मथलो इलामले मलाई लेखनमा प्रेरित गर्यो । साहित्य, कला, जीवन सापेक्ष हुनुपर्छ’,उनले भने,‘सरलता हुनुपर्छ । साहित्यले भुइँ टेकेको हुनुपर्छ । समग्रमा मानव जीवनलाई समेटेको हुनुपर्छ ।’

उनको यो दोस्रो कविता संग्रह हो । लोकार्पण कार्यक्रममा सांसद अमरेशकुमार सिंह, नेकपा एमालेका नेता महेश बस्नेत, पूर्वमुख्यसचिव भोजराज घिमिरेलगायतको उपस्थिति थियो । क्याप्टेन विजय लामा र अभिनेता निखिल उप्रेतीले अधिकारीको उक्त रचना वाचन गरेका थिए ।

धेरै अघिदेखि कविता लेख्दै आएका अधिकारी गीत लेखनमा पनि उत्तिकै सक्रिय छन् । उनको ‘मेरा चित्कारहरु’ नामक कविता संग्रह र ‘देउरालीको फूल’ गीत बजारमा आइसकेको छ ।


 

टिप्पणीहरू