मन्त्रीले समय मागेपछि रोकियो शिक्षा विधेयक
शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकको विषय पेचिलो बनेको भन्दै सहमतिका लागि समय मागेका छन् ।
आज सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले विद्यालय शिक्षा विधेयक पास गर्न केही दिन पर्खिन आग्रह गरे । शिक्षक महासंघसँग २०७५, २०७८ र २०८० सालमा भएका सहमतिहरुलाई कार्यान्वयन गर्नेगरी ऐन अगाडि बढाउने वातावरण निर्माणका लागि समय आवश्यक रहेको पन्तको भनाइ रह्यो ।
शिक्षकहरुलाई फेरि आन्दोलनमा जाने वातावरण बनाउन नहुनेमा जोड दिँदै उनले ९ बुँदे सम्झौता व्यवहारमा गइसकेको दाबी गरे । त्यसको पूर्ण कार्यान्वयन हुनेगरी ऐन ल्याउने मन्त्रीले बताए ।
‘एउटा मन्त्रीको रुपमा २०७५, २०७८ र २०८० सहमतिहरुलाई पनि कार्यान्वयन गरेर कम्तिमा पनि शिक्षक महासंघसँग एउटा राम्रो समझदारी बनाएर उहाँहरुलाई फेरी आन्दोलन जाने वातावरण नबनाऔँ भनेर मैले यो प्रयत्न गरेको हो’, उनले भने, ‘विधेयकका सम्बन्धमा मैले नैतिक दायित्व लिनुपर्ने कुरा यसमा केही पनि छैन । मैले यो संयुक्त सरकारबाट हस्ताक्षर गरेको ९ बुँदे सम्झौता व्यवहारमा गइसकेको छ । कुनैपनि मन्त्रीको दायित्व हस्ताक्षर गरेर छोड्ने मात्रै हो कि समझदारी कार्यान्वयनमा लैजाने पनि हो ? ’
सांसदहरुले आजै विधेयक पास गर्ने भनेपनि नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र मन्त्री पन्तले थप समय माग गरेका हुन् । मन्त्रीको आग्रहमा स्थगित बैठक अब कहिले बस्छ भन्ने टुंगो छैन ।
टिप्पणीहरू