कर छलेका व्यापारी कारागार चलान
भ्याट छलीको झण्डै डेढ अर्ब रुपैयाँ तिर्न अटेर गर्दै आएका एक व्यवसायीलाई आन्तरिक राजश्व कार्यालय, मोरङले कारागार चलान गरेको छ । विराटनगरका हार्डवेयर व्यापारी सौरभकुमार बियानीलाई कार्यालयले पुर्पक्षका लागि कारागार पठाएको हो । उनी थुनिएपछि कर नतिर्ने विराटनगरका व्यापारीहरु तर्सिएका छन् ।
मोरङका ६७ वटा उद्योग र १४ वटा कम्पनीले अर्बौं रुपैयाँ आय र मूल्यवृद्धि कर छली गरेको छ । कार्यालयले पटकपटक सार्वजनिक सूचना जारी गरेर विगत लामो समयदेखिको बक्यौता चुक्ता गर्न आग्रह गर्दै आएको छ । कारबाहीको चेतावनी दिएर फोन र पत्रमार्फत् पटकपटक ताकेता गर्दापनि व्यापारीहरुले कर तिर्न चासो देखाएका छैनन् ।
एक अर्ब ३७ करोड भ्याट छलीको आरोपमा बियानी थुनामा पुगेपछि व्यापारिक समूहमा खैलाबैला मच्चिएको छ । उनीहरुले ‘यस्तो त कहिल्यै भएको थिएन, सँधै मिल्दै आएको थियो’ भनेर एकअर्कासँग चर्चा गर्न थालेका छन् । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २३ (घ) मा धरौटी वा जमानी नबुझाएमा वा नगद नतिरेमा ४५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । बक्यौता तिर्न अटेर गर्ने सबैभन्दा बढी उद्योग विराटनगर महानगरपालिकाभित्र छन् । त्यसपछि सुन्दरहरैँचा, पथरीशनिश्चरे, उर्लाबारी, बेलबारी, बुढीगंगा र रंगेली पर्दछ । पूर्वआपूर्ति राज्यमन्त्री तथा एमाले नेता मोती दुगड, क्वालिटी बिस्कुट उत्पादन गर्ने व्यापारिक घराना कावरा ग्रुप, दुगडका भाइ सतिशकुमार दुगडको नेशनल पाइप इण्डिस्ट्रिज, बोहोरा ग्रुपअन्तर्गतको भावेश बोहोराको भूमि कन्स्ट्रक्सन प्रालि, विराटनगर महानगरपालिकाका पूर्वकर्मचारीसमेत रहेका उद्योगी तारानाथ निरौलाको विराट फुड प्रोडक्ट प्रालि, नेप एण्ड फलेक्सी प्याक, क्वालिटी प्याकले कर तिरेका छैनन् ।
त्यस्तै, आरकेजी ग्रुप, राजकुमारी जेनको अरिहन्त इम्पोर्ट एण्ड एक्सपोर्ट, सञ्जयकुमार अग्रवालको श्रीराम आइरन उण्डस्टिल, कविन श्रेष्ठको शुभ इन्टरनेशनल हस्पिटालिटी, प्रदीप बेगबानीको ओम महालक्ष्मी ज्वेलर्स, पंकजकुमार अग्रवाल र आनन्द दाहालको रिद्धिसिद्धी ईम्पेक्स, शारडा ग्रुपका सौरभ शारडाको प्रिमियर ट्रेडर्स एण्ड सप्लायर्स, सेफरन कंक्रिट, राजकुमार अग्रवालको पंकज आयल, पूर्वाञ्चल क्रसर उद्योग, विवेकानन्द कर्णको पाथीभरा जब प्लेसमेण्ट, नछिकेत निहलाको टान्टिया कन्ट्रक्सन प्रालि र प्रकाश चौधरीको विराट कवारी, पशुपति भगतको अन्नपूर्ण सप्लायर्सलगायतले पनि कर छली गरेका छन् ।
टिप्पणीहरू