प्रचण्डद्वारा शीतल निवासमा देउवाको अगाडि गिरिजाको प्रशंसा

प्रचण्डद्वारा शीतल निवासमा देउवाको अगाडि गिरिजाको प्रशंसा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तनमा स्व. गिरिजाप्रसाद कोइरालाको योगदानको चर्चा गर्दै उहाँको सपना पुरा गर्न सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । 

विस्तृत शान्ति सम्झौताका बेला जनतासँग गरेको वाचाप्रति राजनीतिक नेतृत्व जवाफदेही बन्नुपर्ने उहाँको भनाई छ । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्मजयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित कार्यक्रममा प्रचण्डले संसदीय अभ्यास र न्याय क्षेत्रको कामकारवाही सही मार्गमा अघि बढ्न नसकेको बताउनुभयो । 

‘हामीले विस्तृत शान्ति सम्झौता गर्दा जनतासँग जे कबुल गरेका थियौं, के त्यतैतिर अगाडि बढेका छौं त ?’, उहाँले भन्नुभयो, ‘अहिले चलिरहेको संसदीय अभ्यास, न्याय क्षेत्रको कामकारबाही, सरकारले गरेका गतिविधि, के साँच्चै हामी लोकतन्त्र र परिवर्तनको अभ्यासतर्फ अग्रसर छौं ?’

पूर्व प्रधानमन्त्री प्रचण्डले स्व. कोइरालाको योगदान स्मरण गर्दै सबै राजनीतिक दलहरुले गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको पनि बताउनुभयो । ‘सरकार कसरी चलेको छ, संसद र न्यायालयको अवस्था के छ, यो सबै गम्भीर भएर समीक्षा गर्नुपर्ने आवश्यक छ’, उहाँले थप्नुभयो । 

वर्तमान सरकारप्रति जनतामा आक्रोश र असन्तुष्टिबाहेक अरु केही नभएको प्रचण्डको भनाइ छ । अघि भन्नुभयो, ‘म अहिले जनताको भावना र पीर मर्का बुझ्न अभियानमा निस्केको हुँ, अहिले जे भैरहेको छ, त्यसबाट जनता सन्तुष्ट छैनन् । निष्ठापूर्वक जनताको हितको पक्षलाई प्राथमिकता दिएनौं भने स्थिति गम्भीर छ ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डसहित राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका नेता, गिरिजाप्रसाद कोइराला फाउन्डेसनका पदाधिकारी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । वक्ताहरूले कोइरालाको योगदानको स्मरण गर्दै लोकतन्त्र, मानव अधिकार र शान्ति स्थापनामा उहाँको अग्रणी भूमिकाको चर्चा गरेका थिए ।

टिप्पणीहरू