गोदावरीका उत्कृष्ट विद्यार्थी सम्मानित

गोदावरीका उत्कृष्ट विद्यार्थी सम्मानित

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउन सफल ललितपुरको गोदावरी नगरपालिका- ३ का विद्यार्थी, अभिभावक र विद्यालय सम्मानित भएका छन् । गोदावरी नगरपालिका वडा नं. ३ ले आज आयोजना गरेको एक कार्यक्रममा उत्कृष्ट नतिजासहित उत्तीर्ण ८ वटा विद्यालयका १८ जना विद्यार्थीलाई सम्मान गरिएको हो । 

किटानी माध्यमिक विद्यालयका स्वस्तिका राई, बसन्ती विक, रोहन तिमल्सिना, सरिता मोक्तान, जयश्री रोकाया र रुबिन धिताल, पुष्पाञ्जली अङ्ग्रेजी माध्यमिक विद्यालयका समृद्धि बस्नेत, मञ्जिल महत, सुमना श्रेष्ठ र आशिष लिम्बु, सुर्योदय शैक्षिक विकास प्रतिष्ठानका सार्थक आचार्य, क्रसेन्ट अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रदिका लामा र मञ्जिला मगर सम्मानित भए । त्यस्तै, विद्यासागर अङ्ग्रेजी माविका युनिका शेर्पा, रुविन बिसुंखे र आस्था विसुंखे, सेन्ट जेभियर गोदावरीका शान्वीश्री सिल्वाल र स्तुति सुवेदीले उत्कृष्ट विद्यार्थीको सम्मान पाए ।

सम्मान कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले विद्यार्थी, अभिभावक र विद्यालयको अथक मेहनतले उत्कृष्ट नतिजा हासिल भएको भन्दै खुशी व्यक्त गरे । राम्रो नतिजा ल्याउन नाम चलेका महंगा स्कुलभन्दा विद्यार्थीहरुमा दृढ इच्छाशक्ति र लगनशीलता आवश्यक पर्नेमा उनले जोड दिए । 

“प्रविधिले विश्वभरको जानकारी र ज्ञान हासिल गर्न सक्ने अवस्था रहेको वर्तमान युगमा पढाईको स्तर अभिबृद्धि हुँदै गएको छ, शिक्षण पद्धति र शिक्षणको अवसरमा विविधता आएको छ, विश्वभर विक्न सक्ने उत्कृष्टता हासिल गर्ने शिक्षा लिन अवसर गोदावरीमा नै रहेको छ, विगतमा अभावले धेरैले उच्चशिक्षा हासिल गर्ने अवसर थिएन, अब परिवर्तन भएको छ“, उनले भने । 

विद्यार्थीहरुलाई उच्चशिक्षा हासिल गरेर विदेश जाने सोच नराख्न आग्रह गर्दै मेयर महर्जनले निराशा हैन, आशा बोकेर देशको समृद्धिमा लाग्न उत्प्रेरित गरे । नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीले सार्थकता पाउँदै गएको भन्दै उनले सन्तुष्टि व्यक्त गरेका छन् । 

“गोदावरीले शिक्षामा गरेको लगानीले सार्थकता पाउँदै गएको छ, नगरपालिकाभित्र ८० प्रतिशत भन्दा बढि उतिर्ण भएको अवस्था छ’’, उनले भने, “हाम्रो लगानीको तुलनामा यहाँका संस्थागत तथा सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको छ।’’ 

महर्जनले गोदावरी नगरपालिकाभित्रै कम शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्नेगरी विद्यालय सञ्चालनको तयारीमा रहेको बताउँदै केही बर्षभित्र सफलता प्राप्त हुने विश्वाससमेत व्यक्त गरेका छन् । 

उपमेयर मुना अधिकारीले नगरपालिकाले निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा गरिसकेको जानकारी गराउँदै सामुदायिक विद्यालयको नतिजा सुधारमा ध्यान दिएको बताइन् । उनले विद्यार्थीहरुलाई माध्यमिक तहको शिक्षा पूरा गरी उच्चशिक्षा हासिल गरेर जीवनको लक्ष्य हासिल गर्न उत्प्रेरित गरिन् । 

वडा अध्यक्ष राज घिमिरेले आफ्नो समयमा अध्ययनका लागि कपीकलम सहजरूपमा नपाउने अवस्थामा सम्मानको त कल्पनै नभएको भन्दै अहिले पाएको अवसर र सम्मानलाई ध्यान दिंदै उज्ज्वल भविष्य निर्माणका लागि क्रियाशील हुन आग्रह गरे । उनले विद्यार्थीहरु आफैले छनौट गरेको विषयमा ध्यान दिएर उपलब्धि हासिलमा ध्यान दिनुपर्नेमा जोड दिए । 

आफ्नो वडाभित्र अध्ययन गरेर उच्चशिक्षा हासिल गर्नेहरुले देशको महत्वपूर्ण तहमा नेतृत्व गर्न सक्ने क्षमता विकास गर्न आग्रह गर्दै निराशभन्दा आशावादी भएर अगाडि बढ्न वडाध्यक्षको आग्रह रह्यो। 
 
गोदावरी नगरपालिकाको शिक्षा तथ खेलकुद शाखा प्रमुख दिनानाथ पन्थीले विद्यालयहरुले उत्कृष्ट नतिजा हासिल गरेर इतिहास कायम गर्न सफल भएको भन्दै यस नगरपालिकालाई शिक्षाको हबको रुपमा विकास गर्नेगरी भैरहेको काममा महत्वपूर्ण योगदान पुर्याएको बताए ।

टिप्पणीहरू