विश्वप्रसिध्द सञ्चार विज्ञले क्यानाडा छाडे
विश्वस्तरीय अप्टिकल र रेडियो फ्रिक्वेन्सी वायरलेससम्बन्धी सञ्चार विज्ञ प्राध्यापक जुलियन चेङ चिचन क्यानाडाको आफ्नो लामो शैक्षिक तथा अनुसन्धान सकाएर चीन फर्केका छन् । उनले क्वाङ्तोङमा हालै स्थापित ग्रेट बे विश्वविद्यालय (जीबीयु) मा सूचना विज्ञान तथा प्रविधि स्कूलको डीन तथा मुख्य प्राध्यापकको रूपमा कार्यभार सम्हालिसकेका छन् ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार चेङ यसअघि ब्रिटिश कोलम्बिया विश्वविद्यालय क्यानाडाको विद्युत इन्जिनियरिङ विभागमा थिए । साँघाईमा जन्मिएका चेङले चीन फर्कने निर्णयबारे भने, ‘छ महिनाको गम्भीर सोचविचारपछि मैले क्यानाडामा भएका सबै घरहरू बिक्री गरेँ र एकतर्फी टिकट किनेँ ।’
क्यानाडामा रहँदा उनले अल्ट्राभायलट सन्चार प्रविधिमा विशेष अनुसन्धान गरेका थिए । जसअन्तर्गत विनाशरहित तरिकाले संकेत स्थान पत्ता लगाउने प्रणालीको विश्वकै पहिलो प्रमाणीकरण गरेका छन् । यो प्रविधि विशेषतः कठिन अवरोध परिस्थितिमा पनि काम लाग्ने भएकाले यसको प्रयोग सैन्य,विपद् उद्धार तथा वन डढेलो निगरानीमा महत्वपूर्ण मानिन्छ ।
ग्रेट बे विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि ८० जना स्नातक विद्यार्थी भर्ना गर्दैछ । सन् २०३४ सम्म १० हजार विद्यार्थी पुर्याउने लक्ष्य लिएको छ । हालसम्म विश्वविद्यालयले ३० भन्दा बढी मुलुकका तीन सय जना प्राध्यापक भर्ना गरिसकेको छ ।
चेङले विद्युत इन्जिनियरिङमा युनिभर्सिटी अफ भिक्टोरियाबाट स्नातक,क्विन्स युनिभर्सिटीबाट गणित र इन्जिनियरिङमा स्नातकोत्तर तथा युनिभर्सिटी अफ अल्बर्टाबाट विद्यावारिधि गरेका छन् । पछिल्लो समय विश्वका विभिन्न मुलुकमा रहेका चिनियाँ मूलका वैज्ञानिक,प्राध्यापक तथा विभिन्न पेशा र व्यवसायका विज्ञहरु मातृभूमि फर्कने क्रम बढेको छ ।
टिप्पणीहरू