विद्या निवासमा जानेहरु किन बढे ?
पार्टी संस्थापनको दपेटाईमा परेका नेता–कार्यकर्ताको ‘राजनीतिक आश्रयस्थल’ बन्दै आएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निवास भंगालमा असार १४ पछि भीडभाड झन बढेको छ । पहिले नेता तथा कार्यकर्ताको मात्रै आउजाउ हुने गरेको पूर्व राष्ट्रपति निवासमा अहिले अन्य राजनीतिक दलका नेता,जनप्रतिनिधिदेखि समर्थक–शुभचिन्तक र स्वतन्त्र व्यक्तिहरुको पनि बाक्लो ओहोरदोहोर देखिन्छ ।
दुई पटक गरी करिब सात वर्ष मुलुकको सर्वोच्च पदमा रहँदा भण्डारी शीतल निवासमा रहनुभयो । ०७९ फागुनमा राष्ट्रपतिबाट बाहिरिनुअघिसम्म सुनसान हुने गरेको भंगालको निजी निवासमा अहिले भने भेट्न जानेको ताँती लाग्न थालेको छ । भण्डारीले गत असार १४ गते मदन जयन्तीको रणनीतिक दिन पारेर पार्टी राजनीतिमा फर्किएको घोषणा गर्नुभएको थियो । यो घोषणासँगै उत्साहित एमालेपंक्ति त जाने नै भए,समाजमा नाम कमाएका केही स्वतन्त्र व्यक्ति पनि भंगाल पुगिरहेका छन् । केही दिनअघि काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले पूर्व राष्ट्रपतिलाई भेटेको खबर बाहिर आएको थियो ।
आफ्नो राजनीतिक पुनरागमनको निर्णयलाई समाजको तल्लो तप्का र आममान्छेले कसरी लिइरहेको छ भन्ने बुझ्न भण्डारीले स्वतन्त्र व्यक्तिहरुसँगको भेटलाई प्राथमिकतामा राखेको बुझिन्छ । राष्ट्रपति भैसकेको व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्किने कुरालाई समाजको एउटा पंक्तिले नरुचाएको र त्यसलाई कतिपयले नैतिक प्रश्न बनाएको अवस्था छ । यसप्रति पूर्व राष्ट्रपति सचेत नै रहेको र सबैका कुरा सुन्नुपर्छ भन्ने हिसाबले स्वतन्त्र बुद्धिजीवीहरूसँग छलफल गरिरहेको निकटहरू बताउँछन् ।
‘अन्तिम घडीमा ओलीले छोड्छन् र दुवैको व्यवस्थापन हुनसक्छ भन्ने आशय उहाँको थियो, तर खुलेर भन्नुभएन ।’
अस्ति सोमबार पनि पूर्व राष्ट्रपतिको बोलावटमा स्वतन्त्र वाम बुद्धिजीवीहरूको एउटा टोली भंगाल पुगेको थियो । समाचार स्रोतका अनुसार उक्त भेटमा समसामयिक राजनीति र आफ्नो सक्रियताबारे खुलस्त कुरा गरेकी भण्डारीले पार्टीभित्रको अन्तरविरोधबारे भने संकेत मात्र गर्नुभयो । अध्यक्ष ओलीका कारण पार्टी अलोकप्रिय भएको घुमाउरो कुरा गरे पनि खुलेर आलोचना गर्नुभएन,बरु ओलीसँग मिलेर जाने आफ्नो प्रयास जारी रहने सुनाउनुभयो । ‘केही गर्न सकिन्छ भन्ने लागेर मैले प्रयास गरेको हो, तर सहमतिबाटै व्यवस्थापन गर्न सकिन्छ भन्ने विश्वास छ’, भंगालबाट फर्केका एक वाम विश्लेषकले भने ’अन्तिम घडीमा ओलीले छोड्छन् र दुवैको व्यवस्थापन हुनसक्छ भन्ने आशय उहाँको थियो, तर खुलेर भन्नुभएन ।’
ओलीको समर्थनमै एमालेको नेतृत्वमा पुग्ने विश्वास जनाए पनि भण्डारीले भेट्न जानेहरूलाई त्यसबारे थप प्रष्ट भने पारिसक्नुभएको छैन । त्यसो भए के उहाँ पुनः उपाध्यक्ष भएर बस्ने सम्भावना छ ? शुभचिन्तकहरूको जिज्ञासामा उहाँको कूटनीतिक जवाफ हुन्छ, ’पहिला पनि उहाँ (ओली) सँग सहमतिमै काम गरेको हो,अब पनि सहमतिमा नै हुन्छ । पार्टी बलियो भएमात्र राजनीति गर्न सजिलो हुने हो । त्यसैले अन्तरविरोध चर्काउनुपर्ने केही छैन ।’
तर, दुई कार्यकाल यौटै पदमा रहन नपाउने विधानको मौजुदा व्यवस्था (शंकर पोखरेलले उक्त प्रावधान संशोधन भैसकेको दाबी गरेका छन्) कायम रहँदा यसअघि नै दुई पटक उपाध्यक्ष भैसकेकी भण्डारी सोही पदमा रहन मिल्दैन । अर्कोतिर,उपाध्यक्ष हुनैका लागि उहाँले यत्रो जोखिम मोलेर राजनीतिमा फर्किनुभएको होला भन्ने विश्वास कसैले पनि गरेका छैन । उहाँ निकटहरूले बालुवाटारबाटै यस्तो प्रचार गराइएको दाबीसहित त्यसको खण्डन गरे पनि भण्डारी स्वयं भने अहिलेसम्म मौन नै हुनुहुन्छ ।
महासचिव शंकर पोखरेल लगायतले बाहिर अभिव्यक्त गरेका कुरामा सख्त विरोध रहे पनि उहाँले सार्वजनिक गर्नुभएको छैन । कोर टिममा बाहेक भेट्न आउने नेता–कार्यकर्ता, समर्थक–शुभचिन्तकहरूसँग पनि अहिलेसम्म तीतो पोख्नुभएको छैन । भंगाल पुगेर फर्किनेहरू भन्छन्– उहाँहरू चुनावमा भिड्नुहुन्न । अन्तिममा ओलीले समर्थन गर्नुहुन्छ भन्नेमा उहाँ (विद्या) ढुक्कै रहेको देखिन्छ ।’
तर, यसबीचमा उहाँहरुबीच त्यस्तो कुनै समझदारी भएको सुनिएको छैन । दुवै पक्षबाट कटाक्षपूर्ण टिप्पणी भैरहेकै छ । यस्तोमा ओलीकै प्रस्तावमा अध्यक्ष हुने विध्यामा पलाएको आत्मविश्वासको स्रोत के होला ? निकटहरु भन्छन्, ’अहिले त्यसरी कुरा छिनालेर छलफल भएकै छैन, विधान महाधिवेशन नै आउन समय बाँकी छ, राष्ट्रिय महाधिवेशनसम्म पुग्दा कुरा मिल्छ भन्ने होला !
एमालेले आगामी भदौ २० देखि २२ मा विधान महाधिवेशन गर्दैछ । पछिल्लो सचिवालय बैठकले आन्तरिक तयारी गर्नुका साथै दस्तावेज लेखनका लागि कार्यविभाजन गरिसकेको छ । अघिल्लो विधान महाधिवेशनबाट पारित ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान रहने कि हट्ने भन्ने कुराको निक्र्यौल यही महाधिवेशनले गर्नेछ । यो व्यवस्था कायम रहँदा तेहेरिएर अध्यक्ष बन्ने तयारीमा रहनुभएका वर्तमान अध्यक्ष ओलीको बाटो विधानतः बन्द हुनेछ । यी दुबै प्रावधान हटेको खण्डमा उहाँलाई फेरि अध्यक्ष उठ्न बाधा पर्ने छैन । भावी नेतृत्व चयनको प्रश्नसँग प्रत्यक्षसम्बन्धित विधानको यो प्रावधानलाई आफू अनुकूल व्याख्या गर्न दुवैतर्फका नेता–कार्यकर्ता कस्सिएर लागेकाले पनि एमालेको आन्तरिक जीवनमा यो विधान महाधिवेशन महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
महासचिव शंकर,उपमहासचिव प्रदिप ज्ञवालीलगायत ओली पक्षधरहरूले निलम्बनमा रहेको भनिएको विधानको यो दुवै प्रावधान हटिसकेको दाबी गरिरहेका छन् । विद्या निकट नेताहरु भने षड्यन्त्रपूर्ण ढंगले विधान संशोधन गरेर आफूखुशी उक्त व्यवस्था हटाइएको भन्दै आक्रोशित छन् । हालै एक टेलिभिजन अन्तर्वार्तामा स्थायी कमिटी सदस्य कर्ण थापाले विधान महाधिवेशन ०७८ ले पास गरेको फरक–फरक ३ वटा विधान पल्टाएर देखाउँदै संस्थापन पक्षले बेइमानी गरेको दाबी गरेका थिए ।
टिप्पणीहरू