अस्ति बितेका घर्तीमगरको पार्थिव शरीर पर्सि राप्रपा कार्यालयमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री स्वर्गीय बालाराम घर्तीमगरको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ ।
ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा शुक्रबार उपचारका क्रममा बितेका उनको पार्थिव शरीरलाई पर्सि मंगलबार चावहिलस्थित राप्रपा केन्द्रीय कार्यालयमा राख्न लागिएको हो । उक्त दिन बिहान १० देखि १२ बजेसम्म पार्थिव शरीर पार्टी कार्यालयमा राख्ने र दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने राप्रपाले जनाएको छ ।
आज शोक वक्तव्य जारी गर्दै राप्रपाले घर्तीमगरको निधनबाट पार्टी र देशभक्तिपूर्ण आन्दोलनमा ठूलो क्षति पुगेको बताएको छ ।
‘राप्रपा निर्माणमा स्व.घर्तीमगरको योगदान सम्मानपूर्वक सदैव स्मरणमा रहिरहनेछ । उहाँको निधनबाट राप्रपा र नेपालको देशभक्तिपूर्ण आन्दोलनमा ठूलो क्षति पुगेको छ’ , भनिएको छ, ‘पटकपटक रोल्पाबाट निर्वाचित हुनुभएका स्व.घर्तीमगर विकासप्रेमी र लोकप्रिय जनप्रतिनिधिको रुपमा परिचित हुनुहुन्थ्यो ।’

टिप्पणीहरू