घुस काण्डपछि मन्त्रीको प्रष्टोक्ति : जाँड खुवाएर अडियो बनाइयो
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘३२ लाख घुस डिल’ गरेको भनिएको अडियो नियोजित रुपमा बाहिर ल्याइएको दाबी गरेका छन् । मालपोत कार्यालय कास्कीका अधिकृतको सरुवा गत पुसमै भएको र स्वार्थ समहूले अहिले नियोजित रुपमा अडियो तयार पारेको उनको जिकिर छ ।
एक वर्षे प्रगति विवरण सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले कोही कसैसँग एक रुपैपाँ पनि घुस नलिएको र कसैले प्रमाणित गरेमा जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्ट पारे ।
‘त्यो अडियोमा न मेरो आवाज छ, न मैले केही डिमान्ड गरेको विषय छ, त्यसमा म र मन्त्रालयसँग सम्बन्धित मान्छे नै छैनन्’, उनले भने, ‘जुन पोखराको मालपोतका अधिकृतको विषय छ, त्यो त कर्मचारी सार्ने, ल्याउने नियमित प्रक्रिया हो । फेरि त्यहाँका अधिकृतको सरुवा त पुसमै भइसकेको छ, अनि अहिले अडियो ल्याउनु नियोजित षड्यन्त्र नभएर के हो त ?’
मन्त्री अधिकारीले स्वार्थ समूहले आफ्नो अभिष्ट पूरा गर्न केही व्यक्तिलाई रक्सी खुवाएर बोल्न लगाएको र अडियो तयार पारेको दाबी गरे । ‘जाँड खुवाएर मान्छेलाई भन् कि भन् भनेर भन्न लगाइएको छ, कतिपय मानिसले आफ्नो अभिष्ट पूरा नभएपछि यो षड्यन्त्र गरेका हुन्’, उनले भने ।
घुस डिल प्रकरणमा बिचौलिया भनिएका सुजन लामालाई आफूले राम्ररी नचिन्ने अधिकारीले बताए । ‘त्यो सुजन लामा भन्नेलाई मैले कहिले चिन्दा पनि चिनेको थिइनँ, देखेको पनि थिइनँ, एक पटक दुई तीन जना लिएर यहीँ (मन्त्रालय) आएको थियो, उनले सरुवा भएको कर्मचारीको थमौती गराइदिनुपर्यो भनेका थिए, तर मैले त्यो मामलामा हुँदैन, यो कर्मचारीको सरुवा नियमित प्रक्रिया हो भनेर पठाएको हुँ’, मन्त्रीले भने ।
कास्की (बाटुलेचौरस्थित लिची बगैँचा)को जग्गा हत्याउन खोज्ने स्वार्थ समूहले आफ्नो छोरोलाई समेत मुछेर चरित्रहत्या गरेको उनको गुनासो छ । ‘उहिलेका कुरा खुइले भनेझैं यो त पूरानो कुरा हो, तर अहिले म मात्र भएन भनेर, मेरो छोरो र परिवारलाई समेत जोडेर चरित्र हत्या भएको छ, मैले एक रुपैयाँ लिएको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न पनि तयार छु’, अधिकारीले सुनाए ।
टिप्पणीहरू