बिहेलगत्तै डिभोर्स, त्यसपछि लफडा जारी
युवा पुस्ताकी चर्चित गायिका एलिना चौहानाले डिभोर्स गरेको छ महिना बितिसकेको छ, तर उनले अहिले पनि विभिन्न अन्तर्वार्ता र पोडकास्टहरुमा त्यही विषयमा बोल्दै हिँडेको देखिन्छ ।
सामाजिक सञ्जालमा अभद्र र अश्लिल टिप्पणी गर्नेहरुविरुद्ध उनले ‘मिडिया एक्सपोज’ अभियानदेखि प्रहरीको साइबर ब्युरो हुँदै गृहमन्त्री रमेश लेखक समेत भेटिन् । यसबीचमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले डिभोर्स भइसकेका पूर्वपति विष्णु सापकोटा जोडिरहे ।
यसरी डिभोर्स भएको छ महिनासम्म एलिनाले एकतर्फी हिँसा गरेको आरोप लगाउँदा समेत मौन बसेका सापकोटाले पहिलोपल्ट मुख खोलेका छन् । उनले आज समाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी पनि दिएका छन् ।
कानुनी रुपमा अलग भइसकेपछि पनि एलिनाले पुरानो कुराको चर्चा गर्दै हिँडेको र त्यसले आफूलाई मानसिक रुपमा असर गरेको उनको अनुभव छ । ‘हामी दुई जना अलग भइसकेपछि आपसी समझदारीको आधारमा व्यक्तिगत कुरा सार्वजनिक रुपमा नल्याउने र शान्तिको लागि मौन बस्ने निर्णय थियो, तर चुप लागेर बस्नु मेरो कमजोरी होइन’, उनले भनेका छन्, ‘दुवै पक्षको समझदारीमा सम्मानित अदालतले निर्णय गरिसकेको विषयमा पुनः बोल्दै हिँड्नु अदालतको अपमान ठहर्छ ।’
अष्ट्रेलियामा मायालु व्यवसाय सञ्चालन गर्दै आएका सापकोटाले एलिनाको विषयलाई लिएर आफूमाथि गालीगलौज गर्नेविरुद्ध कानुनी उपचार खोजिरहेको पनि बताएका छन् । सबैलाई मर्यादित हुन आग्रह गर्दै थपेका छन्, ‘म अहिले नेपाल र अष्ट्रेलिया दुवै स्थानमा कानुनी परामर्श लिदैछु ।’
यता सापकोटाले स्टाटस लेखेको केही घण्टापछि एलिनाले एउटा तस्वीर सार्वजनिक गर्दै जवाफ फर्काएकी छन् । तस्वीरमा उनको अनुहारभरी हातपातको निलडाम देखिन्छ । उनले भनेकी छन्, ‘हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो। तर समाजकै दबाब, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले त्यो सकिएको कुरा फेरि दोहोर्याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्यो।’
टिप्पणीहरू