ओली भेट्न विद्या भण्डारी च्यासल पुग्दै
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमन घोषणापछि नेकपा एमालेमा भावी नेतृत्वको बहस पेचिलो बनेको छ । दशौँ महाधिवेशनपछि एकलौटी पार्टी चलाउँदै आउनुभएका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि पहिलो पटक औपचारिकरूपमा प्रश्न उठेको छ । पछिल्लो सचिवालय र पोलिटब्युरो बैठक ओली र विद्याको नाममा ध्रुवीकृत हुँदा नेताहरुबीच प्रष्ट कित्ताकाटको स्थिति बन्यो ।
यसैबीच पूर्व राष्ट्रपति भण्डारी एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल जान लाग्नुभएको छ । विधानमै व्यवस्था गरेर आफ्नो पार्टी पुनरागमनलाई रोक्ने कसरत भैरहेका बेला उहाँ अध्यक्ष ओलीलाई भेट्न दिउँसो ३ बजे च्यासल पुग्ने तयारी छ । हिजो सम्पन्न पोलिटब्युरो बैठकले पनि पूर्व राष्ट्रपतिसँग समझदारी जुटाउन आवश्यक छलफल गर्ने जिम्मेवारी अध्यक्ष ओलीलाई दिने निर्णय गरेको थियो ।
पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र दुई वर्षे कार्यकालको प्रवधान हटाउनेगरी विधान संशोधनको प्रस्ताव अघि बढाएको छ । दशौँ महाधिवेशनका प्रतिनिधिमात्रै विधान महाधिवेशनमा सहभागी हुन् पाउने व्यवस्था संशोधित विधानमा गरिएको छ । यी दुवै प्रावधान पूर्व राष्ट्रपतिको बाटो छेक्न ल्याइएको उहाँ निकटहरूको दाबी छ । यसले तेहेरिएर अध्यक्ष बन्ने तयारीमा रहेका ओलीको भने बाटो खुला गरिदिएको छ ।
उमेर हद र दुई कार्यकालको प्रावधान कायमै रहेको अवस्थामा स्वतः बाहिरिनुपर्ने भएपछि अध्यक्ष ओलीले विधान संशोधन गरेर आफ्नो निरन्तरताको सुनिस्चितता खोजेको प्रष्ट भइसकेको छ । उहाँले हालै एक अन्तर्वार्तामा भण्डारीलाई ‘असक्षम’ करार गर्दै नेतृत्वमा आफ्नो विकल्प नरहेको सन्देश दिनुभएको थियो । ओलीलाई नेतृत्वमा राखिरहन अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पाेखरेल, उपमहासचिव विष्णु रिमाल लगायतले बलियो साथ दिएका छन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्ण थापा लगायतका नेताहरू भण्डारीलाई नेतृत्वमा ल्याउने कसरतमा छन् । बालुवाटारको दबाब र प्रभावले सचिवालय र पोलिटब्युरो बैठकमा नेताहरू प्रष्ट खुल्न नसके पनि पार्टीको तल्लोपंति आफ्नो पक्षमा रहेको भंगालको विश्वास छ ।
'एमालेमा विद्याको आगमनसँगै पहिलो पटक ओलीको नेतृत्वमाथि खुला चुनौती तेर्सिएको छ । ९९ सदस्यीय पोलिटब्युरोमा ६६ जनाले धारणा राख्दा करिब ४० प्रतिशत सदस्यले उहाँ नेतृत्वमा आउनुपर्ने मत प्रकट गरेका छन् । बोलेर वा नबोलेर त्यो बिचारलाई पक्षपोषण गर्नेहरू छन्', भण्डारी पक्षधर एकजना सचिवालय सदस्य भन्छन्, 'यो कोर्स करेक्सनको आरम्भ हो, इन्डिङ होइन । कुनै बेला ख्वाक्क खोकन पनि अध्यक्षको अनुमति चाहिनेजस्तो हाम्रो पार्टीमा अब खुला नेतृत्वको बहस शुरु भएको छ, यसले हामीलाई निरुत्साहित हैन, उत्साहित नै बनाएको छ ।'
सचिवालय बैठकमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीलाई सिधासिधा 'तपाईले चलाउन सक्नुहुन्न राजीनामा दिनुपर्छ' भनेका थिए । उपाध्यक्ष युवराज, सुरेन्द्रसहित खुल्न नसकेका अष्टलक्ष्मी, सचिव योगेश भट्टराई, गोकर्ण विष्टलगायत पनि त्यो लाइनमा छन् । अध्यक्ष ओली पार्टी र राज्य सत्ता दुवैतिर रहेकाले त्यसको दबाब र प्रभाव पोलिटब्युरो बैठकमा देखिएको नेताहरू बताउँछन् ।
'सचिवालयमा गरमागरम बहस भएको थियो । पोलिटब्युरोमा पनि विभिन्न मत प्रकट भएका छन्', उनै नेता भन्छन्, 'एकथरीले ओलीको विकल्प छैन पनि भनेका छन् । नेतृत्व परिवर्तनको पक्षमा बोल्नेहरु पनि छन् । अलिकति त्रास र लोभले पनि काम गरेको छ, धेरै खुल्न सकेका छैनन् ।'
यता, विद्याले ०८० वैशाखमै नवीकरण गराएको सदस्यता अहिले 'होल्ड' मा रहेको भनेर प्रचार गरिएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सदस्यता नवीकरण पेन्डिङमा भएको दाबी गरेका छन् । राष्ट्रपति भएपछि भण्डारीले सदस्यता त्यागेकाले पार्टी विधानको धारा ८ र ९ आकर्षित भएको बताउँदै उनले यसबारे थप छलफल हुने बताए ।
तर, महासचिव शंकर पोखरेलको भनाइ र अन्य प्रमाणले भने सदस्यता 'होल्ड'मा रहेको भनी गरिएका प्रचार तथ्यसम्मत देखिंदैन । असार १४ गते भण्डारीले सदस्यता नवीकरण गराइसकेको र एमाले परिवारमा पुन: जोडिएको घोषणा गर्नुभएको थियो । त्यसको केही दिनपछि एउटा अनलाइन मिडियालाई अन्तर्वार्ता दिँदै शंकरले सदस्यता नवीकरण भैसकेको बताएका थिए ।
'उहाँ (विद्या) सँग अध्यक्षले कुरा गर्ने भन्ने भएको हो, सदस्यताबारे केही निर्णय भएकै छैन', गलत सूचना सम्प्रेषण गरिएको भन्दै ती नेताको आक्रोश छ, 'उहाँहरु (ओली र शंकर) को सजिलोको लागि बैठकमा हुँदै नभएको कुरा बाहिर टिपाउने ? दिग्भ्रमित हुनेगरी सूचना दिने ? सदस्यता होल्डमा राखेको भन्ने राजेन्द्र गौतमको हिजोको कुरा सत्य होइन ।'
स्मरणीय के छ भने भण्डारीले वर्ष वैशाखमै सदस्यता नवीकरण गराएको समाचार जनआस्थाले नै पहिलो पटक लेखेको थियो । 'पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा सदस्यता नविकरण' शीर्षकको समाचारमा संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले उहाँको सदस्यता नवीकरण गरिदिएको उल्लेख छ ।
समाचार सम्प्रेषण भएको १४ महिनासम्म एमालेले न संस्थागतरूपमा यसको खण्डन गर्यो, न नेताहरूले टिप्पणी गरे । जब भण्डारीले आफू अध्यक्षको तयारीमा रहेको आसयमा अभिव्यक्ति दिन थालिन् त्यसपछि अत्तालिएका शंकर पोखरेलहरू सदस्यता नवीकरणबारे बोल्न थालेका हुन् ।
टिप्पणीहरू