विद्यार्थी धेरै जाने ठाउँ अमेरिका कि हङकङ ?

विद्यार्थी धेरै जाने ठाउँ अमेरिका कि हङकङ ?

अमेरिकाको पछिल्लो राजनीतिक वातावरण र विश्वविद्यालयहरूप्रतिको सरकारी हस्तक्षेपका कारण विदेशी विद्यार्थीहरुले नयाँ गन्तव्य रोज्न थालेका छन् । चाइना डेलीका अनुसार अमेरिकाबाट विकर्षण भएका विद्यार्थीहरुले हङकङ विशेष प्रशासनिक क्षेत्र मन पराएको पाइएको छ ।

अमेरिकी विश्वविद्यालयहरू,विशेषगरी हार्वर्ड विश्वविद्यालयमा भएको सरकारी हस्तक्षेप,पछिल्ला महिनामा भइरहेको ट्रम्प प्रशासनको कडा आलोचना र आर्थिक प्रतिबन्धको चपेटामा धेरै विश्वविद्यालय परेका पाइन्छन् । यसैबीच,हङकङले आफूलाई उच्चस्तरीय अंग्रेजी माध्यमका विश्वविद्यालय र चीनको नवप्रवर्तन प्रणालीसँग सीधा पहुँच भएको विकल्पको रूपमा प्रस्तुत गरेपछि विद्यार्थीहरुको चासो त्यता बढेको बताइन्छ ।

‘सुनौलो अवसर’,चुनौती उत्तिकै

हङकङका विश्वविद्यालयहरूमा अध्ययनको वातावरण विश्वस्तरीय भएपनि केही चुनौतीहरू कायमै छन् । विश्वविद्यालय क्याम्पसमा आवासको चीरस्थायी अभाव,महँगो जीवनयापन खर्च यसका मुख्य चुनौती हुन् ।

जनवरी २९ मा ट्रम्प प्रशासनले यहुदीविरोधी गतिविधिविरुद्ध कडा कार्यकारी आदेश जारी गरेपछि विश्वविद्यालयहरूमा चर्को दबाब बढेको हो । गत अप्रिलदेखि हावर्डको २.२ अर्ब डलर संघीय अनुदान रोकिएको छ भने मे महिनामा थप ४५ करोड डलर अनुदान कटौती र कर छुटको सुविधा खारेजीको चेतावनी दिएपछि अमेरिका अध्ययनको लागि असुरक्षित गन्तव्य बन्न थालेको विश्लेषण गरिएको छ ।

अमेरिकामा उत्पन्न नयाँ परिस्थितिपछि नयाँ शिक्षा गन्तव्यको होड चल्ने क्रममा हङकङ अगाडि देखिएको हो । प्रतिस्पर्धामा सिंगापुर र अस्ट्रेलियाजस्ता क्षेत्रीय शिक्षा केन्द्रहरू पनि छन् । यी मुलुकमध्ये जसले सुधार र सहुलियत तत्काल सार्वजनिक गर्छन्, उससँग भविष्यको अन्तर्राष्ट्रिय प्रतिभा भित्र्याउने सम्भावना उच्च हुने विज्ञहरूको भनाइ छ ।

टिप्पणीहरू