बैठक सकाउने तयारी,भाका मिलाउँदै ४२ भाइ

बैठक सकाउने तयारी,भाका मिलाउँदै ४२ भाइ

एमालेको हिजोदेखि शुरु नवौं केन्द्रीय समिति बैठकमा पहिलो दिन ४९ जनाले आफ्नो धारणा राखेका छन् । तीन मीनेट बोल्ने समयमा ४२ जनाले मुखै खोलेर अध्यक्ष केपी शर्मा ओलीको सामुन्ने उहाँको समर्थन गरेका छन् । ‘अटो कट माइक’ मा तीन मीनेटमा केन्द्रीय सदस्यहरुले आफ्ना भनाई एस र नो शैलीमा राखेका थिए ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली निकट एकजना सदस्यले बताएअनुसार ‘४२ जनाले मुखै खोलेर वर्तमान अध्यक्षको विकल्प छैन भनेका छन् । उनीहरुले राष्ट्रपति भइसक्नुभएकी विद्या भण्डारी कुनै हालतमा पार्टी नेतृत्वमा आउन नहुने कारण बताए ।’ बैठकमा नबोल्नेलाई प्रेसर नगर्ने,बोल्नेलाई तीन मीनेटको अटोकट माइक दिने नीति बनाइएको छ । यसअघिका सचिवालय र पोलिटब्युरो बैठकमा धारणा राखिसकेका कमरेडलाई केन्द्रीय समिति बैठकमा मन्तव्य राख्ने अनुमति छैन ।

भोलि प्रधानमन्त्री ओलीले संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाले आज मध्यरातिसम्म भए पनि बैठक अन्त्य गर्नुपर्ने दबाबमा पार्टी नेतृत्व देखिन्छ । हिजो  बिहान ११ बजे बोलाइएको बैठक साँझ ७ बजे रोकिएको थियो ।

"भोलि प्रधानमन्त्री ओलीले संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाले आज मध्यरातिसम्म भए पनि बैठक अन्त्य गर्नुपर्ने दबाबमा पार्टी नेतृत्व देखिन्छ ।" 

अध्यक्षलाई समर्थन गर्ने अधिकांशले भाका मिलाएर बोलेको भण्डारी समर्थकहरुको बुझाइ छ ।  शुरुदेखि अन्तसम्म बस्नुभएका अध्यक्षले आफ्ना समर्थकले  नेतृत्वमा ओलीको विकल्प छैन भनेपछि उहाँले दायाँतिर बसेका ईश्वरहरुलाई ‘देख्यौ त ?’ भन्ने बडी ल्याङ्वेजमा जवाफ दिनुभएको केहीको आकलन छ । ओली आफैँले सबैको धारणा सुन्नुभएको र उपस्थित सदस्यहरुले सोहीअनुरुप बोलेकाले पनि माहौल एकोहोरो बनेको बताइन्छ ।

ओलीको समर्थन बढेकोमा खुशी हुँदै उहाँ निकट अर्का सदस्यले जनआस्थासँगको कुराकानीमा भने, ‘भण्डारीको पक्षमा सचिवालयमा धेरै,पोलिटब्युरोमा अलि कम,केन्द्रीय समितिमा झन कम भएको देखियो । उहाँको पक्षमा धारणा राख्नेले पनि ओली समर्थकले झैँ छिनालेर कुरा गरेका छैनन् ।’ उनका अनुसार हिजो बोल्नेमध्ये तीन जनाले मसिनो स्वरमा ‘अध्यक्षले माहौल मिलाउनुस्’ भनेका थिए । तर ओली समर्थकहरुले खुलेरै ‘राष्ट्र प्रमुख भइसकेको मान्छे कुनै हालतमा पार्टी नेतृत्वमा आउन हुँदैन भनेका छन् ।’

हिजो बिहान बैठक उद्घाटन गर्दै अध्यक्षले अस्ति दिउँसो च्यासलमा पूर्व राष्ट्रपति भण्डारीसँग भएको भेटवार्ताको सन्दर्भ उल्लेख गर्नुभएको थियो । अध्यक्षको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले पोलिटब्युरो बैठकमा जे भनेको थिएँ,विद्याजीलाई हिजो त्यही भनेको छु । उहाँले म सोचविचार गरेर खबर गर्छु भन्नु भएको छ । मैले राष्ट्रपति पदको गरिमा,पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउँदा राजनीतिक प्रणाली र अन्य पार्टीमा पर्ने प्रभावबारे भण्डारीसँग कुरा गरेको छु । पोलिटब्युरो बैठकमा जे भनेको थिएँ उहाँसँग पनि सोही कुरा दोहोर्याएको छु ।’

धारणाकै क्रममा उहाँले पोलिटब्युरो बैठकमा राखिएको आफ्नो ‘कट अफ डेट’ सम्बन्धी  विचारलाई लिएर फेरि अलग्गै भेला गरिएकोमा असन्तोष व्यक्त गर्नुभएको थियो । सम्भवतः अस्ति राति पूर्व राष्ट्रपतिको निवास, भंगालमा बसेको भनिएको ईश्वर पोखरेलहरुसहितको भेलाप्रति उहाँले रोष प्रकट गर्नुभएको स्रोतको अनुमान छ ।

टिप्पणीहरू