निउरो टिप्न जाँदा सेनाद्वारा कुटिएका गोविन्द अझै उठेनन्
साउन १ गते चितवनको मध्यवर्ती वन क्षेत्रमा निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाबाट निर्घात कुटिएका रत्ननगर–७ का ३१ वर्षीय गोविन्द राउत अहिले पनि उपचारकै क्रममा छन् । पुरानो मेडिकल कलेजमा अर्थोपेडिक वार्डको बेड नं. १६३ मा भेट्दा अवस्था नाजुकै देखिन्थ्यो । पुठ्ठामा रगत पिल्लिएको ठूलो नीलडाम अझै छ ।
चिकत्सकहरूका अनुसार हड्डी नै नभाँचिए पनि भित्र मांसपेशीहरु छुट्टिएको छ । बाहिरी चोटपटक पनि छ । कलेजोमा समेत नराम्रो दखल परेको परिवारजनले बताएका छन् । शरीर अहिले पनि दुखिरहेको गोविन्दले बताए । उपचारमा अझै केही समय लाग्ने देखिएको उनकी दिदी कौशिला राउत बताउँछिन् ।
अहिलेसम्म औषधि उपचारमा ५० हजार भन्दा बढी खर्च भइसकेको गोविन्दका पिताले बताएका छन् । सेनाको गुल्मले उपचार सकेर बिल ल्याएपछि तिरिदिने भनेको छ । गोविन्दकी दिदी नाता पर्ने भन्छिन्, ‘उपचार त गर्नुपर्यो राम्ररी । अब उसले केही काम गर्न सकेन भने उसको परिवारलाई पनि हेर्नुपर्यो ।’
निकुञ्जकै जंगलमा नेचर गाइडको रुपमा काम गर्दै आएका व्यक्ति हुन् गोविन्द । बताइएअनुसार कुट्ने सेनाहरु पनि चिनिराखेकै हुन् । तर त्यसदिन रक्सीले मातेका तीनजना सैनिकले नचिनेझैं गरी मरणासन्न हुनेगरी कुटेको बताइन्छ ।

गर्भवती श्रीमतीले निउरो खान मन लाग्यो भनेपछि त्यसदिन उनी स्थानीय दिदीबहिनीहरुसँग जंगल गएका थिए । दिउँसो १२ बजेको समयमा जंगल छिरेका उनी ४ बजेतिर फर्किंदै थिए । अलि छिटो फर्कने क्रममा खोरसोर भन्ने ठाउँमा दुलै खोलाको पुलनेर एक्लो फेला पारी दुधौरा पोष्टका सैनिकले लठ्ठी, बन्दुक र बुटैबुटले लछारपछार पारी पिटेको पीडितले बताएका छन् ।
‘सेनाले रोकेर झोलामा के छ भने ? खोलेर देखाएँ साग थियो । तैपनि बन्दुकले पिटे, लठ्ठीले पिटे र बुटहरुले पनि पिटे मलाई’, गोविन्दले भने । झोलामा खानै हुने च्याउ पनि अलिकति थियो । त्यसलाई विषालु च्याउ र बोतलको पानीलाई समेत रक्सी भन्दै निर्घात कुटेको दुखेसो उनको छ ।
परिवारजनका अनुसार तीनै सेनाचाहिँ गाउँको होटलमा आएर रक्सी खाएर पोष्ट जाँदै थिए । ‘चौरमा उम्रने खालको खानहुने गोब्रे च्याउ अलिकति थियो । त्यो त पछि भेटेको कुरा हो’, गोविन्दले भने, ‘मलाई त निउरो देखेर नै पिटे, एक्लो देखेर पिटे, रक्सी खाएर पिटे ।’
‘गल्ती भएको भए त पक्रेर लिएर जाने हो, प्रशासनमा बुझाउने हो । अनुसन्धान गर्ने हो । त्यो जाबो एक मुठा निउरो टिप्दैमा त्यसरी कुट्न पाइन्छ ? कपडा खोलेर नांगै पनि बनाएर पिट्यो’, पीडितकी दिदीले भनिन् ।
घाइतेको अवस्था बुझ्न निकुञ्जका वार्डेन, सेनाका अधिकारी र वडाअध्यक्षहरु पनि केही दिनअघि अस्पताल पुगेका थिए । अहिलेलाई पीडित र सेनाको गुल्मबीच सामान्य सहमति भएको छ । घाइतेको सम्पूर्ण उपचार खर्च नयाँ गोरख गण ‘क’ गुल्म सौराहाले नै बेहोर्ने र घाइते निको भएपश्चात सबै बसी छलफल गरी मिलापत्र गर्ने भनिएको छ ।
नयाँ गोरख गणको ‘क’ गुल्म सौराहा अन्तर्गत दुधौरा पोष्टमा कार्यरत लमजुङको राइनास नगरपालिका–५ घर भएका प्युठ प्रवीणसिंह ठकुरी, रामेछाप–३ का राजकुमार खड्का र तनहुँको ब्यास नगरपालिका–७ का सुजन गुरुङले कुटपिट गरेका हुन् । उनीरुलाई आवश्यक छानबिन पश्चात् सैनिक ऐन अनुसार विभागीय कारबाही गर्ने सहमतिमा जनाइएको छ । निमित्त गुल्मपति नेल्सन बस्नेत र पीडितको तर्फबाट दिदी कौशिला राउत र विपना राउतले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
घटनालगत्तै स्थानीयले सौराहा ब्यारेक घेर्न पुगेका थिए । टाँडी प्रहरीमा पनि उजुरी छ । उक्त कुटपिटमा संलग्न सैनिकहरुलाई बर्खास्तै गर्नुपर्ने पीडित पक्षको माग छ । तर अहिलेसम्म निलम्बन समेत गरेको नसुनिएको गोविन्दका परिवारजनले बताएका छन् ।
टिप्पणीहरू