विश्लेषकको बुझाइमा विद्यासँग अब दुई विकल्प

विश्लेषकको बुझाइमा विद्यासँग अब दुई विकल्प

नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा रोक लगाउने निर्णय गरेपछि पार्टीपंक्तिमा तरंग पैदा भएको छ । हिजो मध्यराति सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेको उक्त निर्णयलाई लिएर पक्ष-विपक्षमा बहस भैरहेको छ । 

भण्डारीकाे पुनरागमनले पार्टीलाई फइदा पुर्याउने भए पनि नेतृत्वले जबर्जस्ती रोकेको एकथरीको मत छ भने कतिपयले उनलाई अभिभावककै रुपमा देख्न चाहेको इच्छा प्रकट गरिरहेका छन् । 

एमालेको साधारण सदस्यसमेत बन्न नपाउने अवस्थामा पुग्नुभएकी भण्डारी अब कसरी अघि बढ्नुहुन्छ होला ? उहाँको आगामी यात्रा कस्तो होला ? लगायतका जिज्ञासा पैदा भइरहँदा राजनीतिक विश्लेषक कृष्ण पोखरेल भन्नुहुन्छ, ‘विद्यासँगका अब दुई विकल्प छन् !’

उहाँका अनुसार पहिलो विकल्प भनेको ‘पर्दा पछाडि’ बसेर काम गर्ने हो । पाेखरेल भन्नुहुन्छ, ‘उहाँ (भण्डारी)ले आगामी महाधिवेशनमा नयाँ नेतृत्वको लागि आफू निकटका नेताहरुलाई अघि सारेर एउटा पावर सेन्टर आफूलाई बनाउन सक्नुहुन्छ । विद्याको बलमा ईश्वर पोखरेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, कर्ण थापाहरु एक जुट भएर नेतृत्वलाई च्यालेन्ज दिन सक्छन् ।’

पूर्व राष्ट्रपति भण्डारीले ‘पार्टीभित्रै अर्को पार्टी’ बनाउन सक्ने पोखरेलको विश्लेषण छ । भन्नुभयाे, ‘उहाँले पार्टीभित्र आन्तरिक रुपमा आफ्नो संगठन बलियो बनाउँदै लगेको देखिन्छ, अब उहाँ रोकिने अवस्थामा हुनुहुन्न ।’ 

भण्डारीकै कारण आगामी महाधिवेशनमा निर्विराेधको संस्कार अन्त्य हुने पोखरेलको विश्वास छ । ‘अहिले पार्टी फुटाइहाल्ने अवस्था छैन, बरु पार्टीभित्रै अर्को पार्टी चाहिँ बन्न सक्छ, भण्डारी निकटका नेताहरूले एउटा छुट्टै अघाेषित पार्टी बनाउन सम्भावना धेरै छ’, थप्नुभयाे ।  

दोस्रो विकल्पमा पूर्व राष्ट्रपति भण्डारीले मदन भण्डारी फाउन्डेशनबाट आफ्नो गतिविधिलाई अघि बढाउन सक्ने पोखरेल अनुमान गर्नुहुन्छ । ‘त्यो अब  एउटा संस्थामात्र रहेन, अहिले पार्टीको चिनारी बनेको छ, त्यही संस्थामार्फत् उहाँले आफूलाई अघि बढाउन सक्नुहुन्छ’, उहाँले सुनाउनुभयाे ।

टिप्पणीहरू