धादिङ अस्पतालमा उठ्यो विवाद
हिजो मंगलबार बिहान अस्पताल सन्चालन तथा व्यवस्थापन समितिको बैठकमा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष प्रकाशकुमार श्रेष्ठको विमतीले सामाजिक सन्जाल तातेको छ ।
कतिले वास्तविकता के हो नै नबुझी हौवाको भरमा बोलिरहेका छन् त केहीले तर्कसंगत धारणा व्यक्त गरिरहेका छन् । वास्तवमा यहाँ सत्ता साझेदार दुई दल ‘नेपाली कांग्रेस र नेकपा एमाले’बीच राजनीतिक दाउपेच प्रष्ट देखिएको छ ।
जिल्ला सदरमुकाम धादिङबेसीलाई सधैं आफ्नो कब्जामा राख्दै आएको नेपाली कांग्रेसलाई अस्पताल व्यवस्थापन समितिको नेतृत्व नेकपा एमालेले गरेको मन परेको छैन । र,एमाले नेतृत्वले गरेका काम असफल बनाउने योजना बनाएको धादिङ अस्पताल सन्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाको ठहर छ ।
अस्पताल सामाजिक संस्था हो,अहिले सफल हुन दिइयो भने सदरमुकाममा राजनीतिक रुपमा एमाले अझ बलियो बन्छ भन्ने पीर छ । आफ्ना योजना सफल पार्न कांग्रेसको एक समूहले धादिङ अस्पतालको सेवा राम्रो छैन भन्ने पार्न लागेको देखिन्छ । कांग्रेसका केही कार्यकर्ताले त नेतृत्वमाथि नै मोसो दल्न जान सामाजिक सञ्जालमार्फत आह्वान नै गरेको देखिएपछि विषय झन् पेचिलो बनेको हो ।
संघीयता लागु भएदेखि नै अस्पताल व्यवस्थापन समितिमा राजनीतिक भागवण्डाकै आधारमा अध्यक्ष र प्रतिनिधित्वमुलक ढंगबाट सदस्य मनोनित हुँदै आएको हो । यसअघि कांग्रेस र माओवादीबीच सत्तासाझेदारी थियो,माओवादीले नेतृत्व गरेको थियो, अहिले कांग्रेस र एमालेबीच सत्तासाझेदारी रहँदा एमालेले अस्पताल व्यवस्थापनको नेतृत्व पाएको छ । सापकोटा भन्छिन्–‘यो जसरी पनि नेकपा एमालेको नेतृत्वलाई फेल गराउने खेल हो, अस्पतालको सुधारमा हामी कतै चुकेका छैनौं ।’
अर्काे कुरा धादिङ अस्पतालमा करार कर्मचारीको म्याद सकिएको छ । यस अघि नियुक्त अधिकांश कर्मचारी नेपाली कांग्रेस र नेकपा माओवादी समर्थित नै धेरै छन् । कर्मचारीको म्याद नथपेर नयाँ कर्मचारी माग गर्दा आफ्ना समर्थित कर्मचारी फालिने डर कांग्रेसलाई छ । तर, अस्पताल व्यवस्थापन समिति करार कर्मचारीको कार्यसम्पादन मूल्यांकन गरी मुल्यांकनमा पास भएकाहरुको मात्रै करार सम्झौता गर्ने पक्षमा रहेको दावी छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले नर्सिङ कलेज चलाउन धादिङ अस्पताललाई छनोट गर्यो । तर अस्पताल आफ्नो नेतृत्वमा नभएको बेला नर्सिङ कलेज संचालन गर्न नदिने मनसायमा कांग्रेस पुगेको छ । त्यसैको कारण पनि एमालेको तर्फबाट नियुक्त भएका अस्पताल व्यवस्थापन समितिका अध्यक्षमाथि कांग्रेसीहरु खनिएको बुझिन्छ ।
यसअघि पनि अस्पतालका मेसु र व्यवस्थापन समितिका अध्यक्षलाई धम्प्याउने प्रयास नभएको होइन । एक जना कर्मचारीको विषयलाई लिएर ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले २०८२ जेठ १२ गते मेसुकै कार्यकक्षमा प्रवेश गरेर हातपातको प्रयास गरेका थिए । सत्ता साझेदारको सम्बन्धकै कारण व्यवस्थापन समितिका अध्यक्ष सापकोटाले त्यो कुरा सार्वजनिक गरेकी थिइनन् । सहनै नसक्ने हुन थालेपछि बाध्य भएर बोल्नु परेको सापकोटाको भनाई छ ।
मंगलबार बिहान धादिङ अस्पताल संचालन तथा व्यवस्थापन समितिको बैठक बोलाइएको थियो । बैठकको सुरुमा समितिका सदस्य सचिव एवं अस्पतालका मेडिकल सुरिटेन्डेन्ट गगन अधिकारीले एजेण्डा प्रस्तुत गरे । त्यतिबेला नै नीलकण्ठ नगरपालिकाका कार्यपालिका सदस्य प्रकाशकुमार श्रेष्ठले विमती जनाए । व्यवस्थापन समितिका अध्यक्षले आफूलाई समितिको आधिकारिक सदस्य नभएको भन्ने अभिव्यक्ति दिएको र त्यो सहिसक्नु नहुने भन्दै बैठकबाट बाहिरिएको फेसबुकमा स्टाटस लेखे । अहिले त्यही स्टाटसको पक्ष र विपक्षमा समेत कमेन्टमै बहस चलिरहेको देख्न सकिन्छ ।
श्रेष्ठ नगरपालिकाबाट प्रतिनिधित्व गर्दै अस्पताल व्यवस्थापन समितिको अघिल्लो कार्यकालमा सदस्य थिए । प्रदेश सरकारले नयाँ प्रदेश स्वास्थ्य ऐन जारी गरेपछि बनेको व्यवस्थापन समितिमा पनि नगरप्रमुख भीमप्रसाद ढुंगानाले श्रेष्ठलाई नै सदस्यको रुपमा प्रतिनिधित्व गर्न पठाए । अस्पतालले औपचारिक पत्रमार्फत प्रतिनिधि पठाउन आग्रह गरे पनि नगरप्रमुखले श्रेष्ठलाई मौखिक रुपमै प्रतिनिधित्व गर्न पठाएका थिए । विवाद नआउन्जेल आधिकारिक पत्रको कुरा सामान्य थियो तर जब दुई पक्षबीच विवाद आउन थाल्यो आधिकारिक पत्रमा पुगेर कुरा अड्कियो ।
तर, नीलकण्ठ नगरपालिका, कार्यपालिका सदस्य श्रेष्ठको कुरा छुट्टै छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सापकोटाले भने नगरपालिका र अस्पताललाई जोड्ने पुलको काम गर्न नगरपालिकाको प्रतिनिधि समितिमा राख्ने व्यवस्था भएपनि त्यो भूमिका निर्वाह नगरी नकारात्मक रुपमा कुरा गर्ने र असहयोग गर्ने काम गरेकाले यो नगर्न भनेपछि उनी बैठकबाट बाहिरिएका हुन् ।
पछिल्लो समय अस्पतालमा सुधार पनि भएकै छ । किड्नीका बिरामीलाई हेमोडायलासिस सेवाको पहुँचमा ल्याएको छ । सेवा प्रवाहलाई व्यवस्थित गर्न विमा काउण्टरको छुट्टै व्यवस्था मिलाएको छ । इण्डोस्कोपी सेवा संचालनलाई व्यवस्थित बनारहेको व्यवस्थापन समितिको भनाई छ । नेपालमा नाम चलेका चिकित्सकहरुबाट विशेषज्ञ सेवा प्रदान गरिरहेको छ । तर आफु हुँदा सबै राम्रो आफु नहुँदा सबै नराम्रो भन्ने परिपाटी अस्पतालमा हावी भएकै कारण आम नागरिकमा भ्रम फैलाइएको छ ।
टिप्पणीहरू