साल्ट्र ट्रेडिङ्गको कोशी कार्यालयमा गज्जब साँठगाँठ
मोरङको विराटनगरस्थित साल्ट ट्रेडिङ्गको कोशी प्रादेशिक कार्यालयमा वर्षौंदेखि चलिरहेको खुलेआम भ्रष्टाचारलाई केन्द्रीय कार्यालयले गुपचुप राख्नुको पछाडि ठूलै साँठगाँठ रहेको आरोप छ । भ्रष्टाचारमा मुछिएका प्रमुख व्यवस्थापक राधेश्याम चौधरीलाई जोगाइराख्नुमा आन्तरिक कारण रहेको पाइएको छ ।
चौधरीको नेतृत्वमा भइरहेको भ्रष्टाचारबारे प्रादेशिक कार्यालयकै कर्मचारीले उजुर दिए पनि केन्द्रीय कार्यालयले ‘तै चुप,मै चुप’ गरिरहेको छ । केन्द्रबाट आएका उच्च पदस्थहरुलाई खुशी पार्नका लागि उनले रक्सी पार्टीसमेत दिएको फेला परेको छ । अनुगमनका लागि पुगेको टोलीका निम्ति उनले २०८० भदौ २६ गते विराटनगरस्थित भाटभटेनी सुपरमार्केटबाट आफ्नै नाममा ३५ हजार ६९० रुपैयाँको ब्ल्याक लेबल रक्सी किनेको रसिद जनआस्थालाई प्राप्त भएको छ ।
उनीहरुले सुगर मिलस्थित गेट हाउसमा रमाइलो गरेका थिए । गत माघमा पनि उनले आफ्ना निकट उच्च पदस्थहरुलाई खसी काटेर भव्य भोज खुवाए ।
अकुत सम्पत्ति,छैन खोजीनीति
साल्ट्र ट्रेडिङ्गमा जागिर खाएपछि चौधरीले विराटनगर,जनकपुर, काठमाडौं,ललितपुरलगायत विभिन्न ठाउँमा घडेरी किनेका छन् । वीरगञ्जमा रहँदा मट्टितेल घोटालामा मुछिएर रातारात काठमाडौं तानिएका उनी ९ वर्षदेखि विराटनगरमा छन् । केन्द्रीय निर्देशककै संरक्षणमा उनले कार्यालयलाई भ्रष्टाचारको अखडा बनाएको कर्मचारीहरु बताउँछन् । तर, विभिन्न निकायमा उजुर पर्दा पनि छानबिन हुन सकेको छैन ।
पञ्चायती शैलीमा कार्यालय सञ्चालन
सो कार्यालय अहिले पनि पञ्चायती शैलीमा सञ्चालन भइरहेको छ । कार्यालयमा प्रवक्ता र सूचना अधिकारी नियुक्त गरिएको छैन । यतिसम्म कि, कार्यालयको आफ्नो वेभसाइटसमेत छैन । पत्रकारलाई बिनाअनुमति कार्यालयमा प्रवेश गर्न दिइँदैन । कार्यालयमा भएको भ्रष्टाचारबारे बारम्बार समाचार आए पनि सरोकारवाला निकाय कानमा तेल हालेर बसेको छ । नुन प्याकिङ्ग,मल लोड–अनलोड,सवारी चलानी,मल खरिदबिक्री,कबाडी सामानमा ठूलो घोटाला भइरहेको छ ।
अख्तियारको उदासिनता
चौधरीविरुद्ध पटकपटक प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको भए पनि अनुसन्धान अघि बढाइएको छैन । राष्ट्रिय सतर्कता केन्द्र र उद्योग मन्त्रालय पनि आँखा चिम्लेर बसेका छन् ।
टेण्डरबाट कबाडी बेच्न निर्देशन
जनआस्थामा समाचार प्रकाशित भएपछि केन्द्रीय कार्यालयले सबै प्रादेशिक कार्यालयलाई टेण्डरबाट खाली नुनका बोरा र कबाडी सामान बेच्न निर्देशन दिएको छ । विराटनगरमा पहिलोपटक २० लाख माथिको सामान टेण्डरमार्फत बिक्री गरिँदैछ । अन्य प्रादेशिक कार्यालय पनि टेण्डर आह्वानको तयारीमा छन् ।
टिप्पणीहरू