आसन फेरेसँगै सरकारप्रति उपेन्द्रको चर्को आक्रोश
भूमाफियालाई जग्गा बाँड्न बन फँडानी गर्नेगरी सरकारले कानुन ल्याउने तयारी गरेको भन्दै जनता समाजवादी पार्टी, नेपालले आपत्ति जनाएको छ ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै पार्टी अध्यक्ष तथा सांसद उपेन्द्र यादवले बन बिनास गर्ने त्यस्तो कानुन आफूहरुलाई स्वीकार्य नहुने बताए । ‘एकातर्फ सरकारले सगरमाथा संवाद सम्पन्न गरेको छ । अर्कोतर्फ वन फडानी गर्ने र भूमाफियालाई जग्गा प्रदान गर्नेगरी, वन बिनास गर्नेगरी कानून पनि ल्याउँदैछ । यो कस्तो नीति हामी अंगाल्दैछौं’, उनले प्रश्न गरे ।
अध्यक्ष उपेन्द्रले मधेश प्रदेशलाई मरुभूमिकरण हुन नदिन सरकारको गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । त्यहाँको सिंचाई र खानेपानी समस्या समाधानका लागि डिप बोरिङ र विद्युतीय सिंचाई प्रणालीको व्यवस्था गर्न उनले सरकारसँग माग गरे ।
विगतका वर्षहरूमा समेत मधेशमा खानपानी समस्या देखिँदै आएको भएपनि सरकार गम्भीर नहुँदा अहिले संकट उत्पन्न भएको उपेन्द्रले बताए । घट्दै गएको पानीको सतह कर्म गर्न तत्काल काम थाल्न आग्रह गरे ।
मधेशको सुक्खा क्षेत्रमा २४ सै घण्टा विद्युत आपूर्ति गर्न पनि उपेन्द्रले सरकारलाई भनेका छन् ।
केपी ओली नेतृत्वको कांग्रेस-एमाले गठबन्धन सरकार गठनदेखि नै सत्ता पक्षमा रहेको जसपा अघिल्लो सातादेखि प्रतिपक्षमा छ । प्रतिपक्षी बेञ्चमा पुगेपछि उपेन्द्रले पहिलो पटक आज सरकारविरुद्ध कडा अभिव्यक्ति दिएका हुन् ।
टिप्पणीहरू