बाँसको भाटा लिएर मण्डलामा मेयरको सत्याग्रह
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले सत्याग्रह शुरु गरेका छन् ।
सात बुँदे माग राख्दै उनी आज बिहानदेखि सत्याग्रहमा बसेका हुन् । बाँसको भाटा लिएर सत्याग्रह थाल्न सिंहदरबारको दक्षिण गेटअगाडि पुगेका भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएर माइतीघर मण्डलामा छोडिदिए थियो । त्यसपछि उनले त्यहिँ पलेंटी कसेका हुन् ।
कपाल मुण्डिएर उनी परालमाथि कम्बल ओछ्याएर बसेका छन् । सत्याग्रहस्थल छेउछाउ ‘पैसा छैन नीति देऊ, आत्मनिर्भर समाज बनाऔं’,‘प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं’,‘आफ्नो होइन प्राणी–जगतको चिन्ता गरौं’,‘प्रकृतिको विनाश होइन, संरक्षण गरौं’, लेखिएका प्लेकार्ड रखिएको छ ।
तीन दिन आठ घण्टा सत्याग्रह बसेपछि साउन १४ गतेदेखि आमरण अनशन थाल्ने मेयर भट्टराईले जानकारी दिए । जनआस्थासँग उनले भने,‘आजदेखि सत्याग्रह थालेको हुँ । तीन दिन आठ घण्टा सत्याग्रह बस्छु । साउन १४ गतेदेखि आमरण अनशन बस्नेछु ।’
माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराउँदापनि सुनुवाइ नगरेकाले सत्याग्रह थाल्नुपरेको उनको भनाइ छ ।
जलवायु परिवर्तनका कारण पहाडहरू काला पहाडमा रुपान्तरण हुँदै गएकाले हिमालको संरक्षणका लागि नीति बनाउन, स्थानीयस्तरमा बाँसबाट उत्पादित सामानको प्रयोग गर्ने व्यवस्था मिलाउन, बाँदरको आतंक रोक्न, निर्माण अलपत्र पार्ने ठेकेदारहरुलाई कारबाही गर्न, एउटा ठेक्का पूर्ण रुपमा नसकाईकन अर्को ठेक्का नदिन, प्लाष्टिक–बियरका बोतल, जंकफुडका प्याकेट उत्पादनकर्ताले नै व्यवस्थापन गर्नुपर्नेगरी कानुन बनाउन उनले संघीय सरकारसंग माग राखेका छन् ।
तस्बिरहरु






टिप्पणीहरू