खुसुखुसु मन्त्री नियुक्त, अरु दल छक्क
लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । यस क्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले लोसपाका सांसद सन्तोष पाण्डेलाई मन्त्री नियुक्त गरेका छन् ।
यसअघि प्रदेश सभामा आर्थिक वर्ष ०८२/०८३ को बजेटमाथि छलफल भइरहेका बेला तीन सांसद रहेको लोसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो । त्यसयता लोसपा सांसदहरु प्रतिपक्षकै हैसियतले प्रदेश सभामा सहभागी हुँदै आएका थिए । तर, आज अचानक पाण्डेलाई मन्त्री बनाइएको हो ।
गत असार १७ गते समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको लोसपा फेरि सरकारमा सहभागी भएपछि मुख्यमन्त्रीको दल एमालेमा शंका उत्पन्न भएको छ । सो दलबाट सरकारमा सहभागी एक मन्त्रीका अनुसार मुख्यमन्त्रीले आफूसँगै रहेको युवा तथा खेलकुद मन्त्रालय दिने र लोसपा सरकारमा सहभागी हुने सहमतिसँगै केही भित्री समझदारी भएको अनुमान छ । तर, त्यसबारे आफू अनभिज्ञ रहेको उनले बताए ।
‘लोसपा आजदेखि सरकारमा सहभागी भएको छ,नियुक्ति पत्र प्रदेश प्रमुखको कार्यालय पुगिसक्यो’,उनले जनआस्थासँग भने,‘यो बीचमा मुख्यमन्त्रीले नै लोसपासँग संवाद गरिरहनुभएको थियो, के सहमति र सम्झौतापछि लोसपा सरकारमा सहभागी भयो,त्यो थाहा छैन ।’
पछिल्लो दुई चार दिनयता मुख्यमन्त्री र लोसपाबीच भएको छलफलबारे पार्टीलाई समेत थाहा नभएकाे ती मन्त्रीकाे भनाइ छ ।
‘कम्तिमा हामीलाई त थाहा हुनुपर्ने हो कुन पार्टी सरकारमा आउँदैछ, तर हामीलाई नै थाहा छैन, अचानक मन्त्री नियुक्त हुनुभयो,एकैचौटी भोलि सपथको कार्यक्रम रहेको खबर आएको छ’, उनले भने ।
टिप्पणीहरू