बागमतीमा मुख्यमन्त्रीको हानथाप, लुम्बिनीमा लफडा
बागमती प्रदेश सरकारको नेतृत्वका लागि सत्तारुढ नेपाली कांग्रेसभित्र देखिएको किचलो साम्य पार्न आज संसदीय दलको बैठक बस्दैछ ।
दिउँसो १ बजे हेटाैँडामा बस्ने बैठकमा प्रदेश कार्यसमितिका पदाधिकारी पनि सामेल हुँदैछन् । ०७९ मा सम्पन्न संसदीय दलको निर्वाचनमा २१ मतसहित दलको नेता चयन हुँदै मुख्यमन्त्री बनेका बहादुरसिंह लामाविरुद्ध बहुमत सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएपछि कांग्रेसमा किचलो चर्किएको हो ।
कांग्रेसका ३७ प्रदेश सभा सदस्यमध्ये २१ जना इन्द्रबहादुर बानियाँलाई दलको नेता र मुख्यमन्त्री बनाउने गरी अघि बढेका छन् । मुख्यमन्त्री लामा र सांसद बानियाँ दुवै सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
तर, पछिल्लो समय मुख्यमन्त्री लामाको कार्यशैलीलाई लिएर देउवा सन्तुष्ट छैनन् । जसका कारण उनको विकल्प खोज्ने तहमा पार्टी नेतृत्व पुगेको कांग्रेसीहरू बताउँछन् । समस्या थप चर्कन नपाओस् भनेर देउवाले केन्द्रीय सदस्य राजन केसीलाई हटौँडा पठाएका छन् ।
उता, लुम्बिनी प्रदेशमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सन्तोष पाण्डेलाई एकाएक मन्त्री बनाइएपछि विवाद शुरु भएको छ । लोसपा संसदीय दलका उपनेता कन्हैया बानियाँले आफ्नो पार्टी सरकारमा जानेबारे कुनै छलफल नभएको दाबी गरेका छन् ।
लोसपाका तीनमध्ये दुई सांसदले पाण्डेले शंकास्पद सम्झौता गरेको भन्दै सरकारमा नजाने अडान लिएका छन् । सरकारको नेतृत्व गरिरहेको एमालेका नेताहरू पनि मुख्यमन्त्री चेतनारायण आचार्यको कार्यशैलीलाई लिएर असन्तुष्टि चर्किएको छ । पार्टीसँग सल्लाह नै नगरी आफूखुसी क्याविनेट हेरफेर गरेको भन्दै मुख्यमन्त्रीसँग सांसदहरू रुष्टिएका हुन् ।
टिप्पणीहरू