हिजो अविश्वास,आज अन्तै उठिवास

हिजो अविश्वास,आज अन्तै उठिवास

बागमती प्रदेशको मुख्यमन्त्री पद हत्याउन नेपाली कांग्रेसको दुई गुटबीच तीब्र प्रतिष्पर्धा चलिरहँदा सांसदहरूले धमाधम कित्ता फेर्न थालेका छन् । गत शुक्रबार मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध हस्ताक्षर गरेका दुई सांसदले एकाएका कोल्टे फेरेका हुन् ।  

काँग्रेस प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँलाई संसदीय दलको नेता र मुख्यमन्त्री बनाउनेगरी २१ सांसदले शुक्रबार दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसमा हस्ताक्षर गरेका सांसदद्वय माया श्रेष्ठ र मीना पराजुली आज नाम फिर्ता लिएका हुन् । 

उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै जानकारीबिना नै आफूहरुको नाम राखेको दाबी गर्दै मुख्यमन्त्री लामाकै पक्षमा रहेको स्पष्ट पारेका छन् । यो सँगै यसअघिको २१-१६ को स्थिति बद्लिएर अब १९-१८ भएको छ । प्रदेश सभामा काँग्रेसका ३७ सांसद छन् । संसदीय दलको नेता फेर्ने कम्तिमा १९ सांसद चाहिन्छ ।  

विवाद समाधानको लागि हिजो बस्ने भनिएको संसदीय दलको बैठक मुख्यमन्त्री लामाकै आग्रहमा आजको लागि सारिएको थियो । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशमा काठमाडौँबाट हेटौँडा पुगेका केन्द्रीय सदस्य राजन केसीले पनि लामालाई मागेको जति समय दिएका थिए । यसबीचमा श्रेष्ठ र पराजुलीले कित्ता परिवर्तन गरेपछि एकथरीले सांसद किनबेचको आशंका गरेका छन् । स्मरणीय छ, चर्चित ठेकेदारसमेत रहेका नुवाकोटे लामा पैसावाला नेतामा पर्छन् । 

बानियाँ निकटका एक सांसद भन्छन्, ‘उहाँहरु हिजोसम्म इन्द्रकै पक्षमा हुनुहुन्थ्यो, तर रातारात कित्ता परिवर्तन गर्नुभयो, किन परिवर्तन गर्नुभयो, मुख्यमन्त्री र उहाँहरुलाई नै थाहा होला ।’

ती नेताका अनुसार मुख्यमन्त्री लामाले पैसा दिएर श्रेष्ठ र पराजुलीलाई आफ्नो पक्षमा तानेको आशंका गरिएको छ । लामाले उनीहरुलाई मन्त्री बनाइदिने प्रलोभन दिएको हुनसक्ने पनि उनको अनुमान छ । 

उता बानियाँले भने २३ सांसद आफ्नो पक्षमै रहेको दाबी गरिरहेका छन् । लफडा मिलाउन अहिले बैठक जारी छ । 

यसैबीच खानेपानी तथा सिँचाइमन्त्री श्यामबहादुर खड्का पनि राजीनामा दिएर बानियाँको पक्षमा खुलेका छन् । यसअघि चार मन्त्रीले एकैचोटी राजीनामा दिएका थिए ।

 

टिप्पणीहरू