फोन सुविधा दुरुपयोग गर्ने प्रहरीलाई कारबाहीको चेतावनी
नेपाल प्रहरीले ‘कर्पोरेट युजर ग्रुप (सियुजी)’ सेवा दुरुपयोग गर्ने आफ्ना कर्मचारीलाई कारबाही गर्ने भएको छ । सियुजी सेवामा आबद्ध भई आफ्नो नाममा लिएको नम्बर अन्यलाई प्रयोग गर्न नदिन आग्रह गर्दै प्रहरी मुख्यालयले त्यसो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।
मुख्यालयले प्रहरी महानिरीक्षकको सचिवालय, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय, र सातै प्रदेशको प्रहरी प्रदेश कार्यालयलाई पत्राचार गर्दै आफ्नो नाममा लिएको नम्बर अरुलाई प्रयोग गर्न दिनु कानुनविपरीत हुने जनाएको छ । सेवामा आबद्ध नम्बरहरु अन्य व्यक्तिको पहुँचमा पुगेर दुरुपयोग भएको पाइएमा ‘प्रहरी नियमावली, २०७९ (संशोधनसहित)’ बमोजिम विभागीय कारबाही गरिने मुख्यालयको चेतावनी छ ।
‘प्रहरी कर्मचारीहरुको सियुजी सेवामा आबद्ध भएका व्यक्तिगत मोबाइल नम्बरहरु सम्बन्धित प्रहरी कर्मचारीबाहेक अन्य अनाधिकृत व्यक्तिहरुले प्रयोग गरेमा कानुनविपरीत हुने हुँदा आ–आफ्नो नाममा रहेका मोबाइल नम्बरहरु सम्बन्धित प्रहरी कर्मचारीहरु स्वयंले मात्रै प्रयोग गर्नुहुन जानकारी गराइन्छ’,पत्रमा उल्लेख छ ।
त्यसैगरी, मुख्यालयले सियुजी सेवा प्रयोग गर्दै आएका परिवारले प्रयोग गर्ने नम्बरहरु ‘पिएमआईएस’ रेकर्डमा अपडेट गरिसकेको जानकारी दिएको छ । प्रहरी कर्मचारीहरुले ‘नेपाल पुलिस एप’ डाउनलोड गरेर आफ्नो रेकर्ड भएका नम्बरहरु प्रयोगमा रहे–नरहेको यकिन गर्न सक्नेछन् । साथै, त्यसमा कुनै परिवर्तन गर्नुपर्ने भएमा सात दिनभित्रमा सियुजी शाखामा सम्पर्क गर्न सूचित गराइएको छ ।
पत्रमा अगाडि भनिएको छ,‘हालसम्म सियुजी सेवामा आबद्ध भएका सम्पूर्ण प्रहरी कर्मचारी तथा प्रहरी परिवारले प्रयोग गर्ने सियुजी नम्बरहरुलाई नेपाल प्रहरीको पिएमआईएस रेकर्डमा अपडेट गरी सकिएको हुँदा सम्पूर्ण प्रहरी कर्मचारीहरुले नेपाल पुलिस एस डाउनलोड गरी आ–आफ्नो रेकर्डमा भएको नम्बरहरु प्रयोगमा रहे–नरहेको यकिन गरी केही परिवर्तन गर्नुपर्ने भएमा सम्बन्धित कार्यालयमार्फत सात दिनभित्र ने.प्र.प्र.का. सियुजी शाखाको ईमेल ठेगानामा खुलाई पठाइ दिनुहुन...।’
सियुजी सेवाका लागि नेपाल टेलिकम र प्रहरीबीच २०६८ असोज १० गते सम्झौता भएको थियो । प्रहरीले हालसम्म सो सेवा प्रयोग गर्दै आएको छ । प्रहरी कर्मचारीहरुलाई सुलभ, सहज, विश्वसनीय,भरपर्दो र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउनका लागि सो सेवा प्रयोगमा ल्याइएको हो ।
सियुजी सेवामा आबद्ध भई कायम भएको ग्रुपभित्र भएका नम्बरमा कल गर्दा कुनै शुल्क लाग्दैन ।

टिप्पणीहरू