रविको छेउमा रास्वपाको टोली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक भैरहवामा बसेको छ । गौतमबुद्ध विमानस्थल अगाडिको होटल रमादामा बैठक गरेको रास्वपाले जनाएको छ ।
सहकारी ठगी काण्डमा मुछिएका रास्वपा सभापति तथा दलका नेता रवि लामिछाने भैरहवा कारागारमा छन् । दलको बैठकअघि रास्वपाका चार जना सांसदले जेलमै पुगेर उनलाई भेटेका थिए ।
जारी बैठकमा समसामयिक राजनीति, आसन्न उपनिर्वाचन र संसदमा पार्टीको भूमिकाबारे छलफल भैरहेको बताइएको छ । भिजिट भिसा प्रकरणमा लगातार संसद अवरुद्ध गर्दै आएको रास्वपाले दलको बैठकमा यसबारे पनि समीक्षा गर्ने जनाएको छ ।
आगामी कात्तिकमा हुने रुपन्देही-३ को उपचुनावलाई रास्वपाले प्रतिष्ठाको विषय बनाएको छ । अदालतको आदेशले जेल परेका सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै चलाएको हस्ताक्षर अभियानको औचित्य पुष्टि गर्न पनि उपचुनावमा प्रतिष्पर्धात्मक मत ल्याउनैपर्ने दबाबमा सो पार्टी देखिन्छ ।
फौजदारी कसूरमा जेल पुग्दासमेत पद नछोडेका रविसँग परामर्श लिएर उनकै छेउमा बैठक बस्नुलाई धेरैले अचम्म मानेको स्थिति छ ।
टिप्पणीहरू