संशोधन बिनाको ‘मिडिया काउन्सिल विधेयक’ अमान्य
समाजवादी प्रेस संगठन नेपालले ‘मिडिया काउन्सिल विधेयक’ संशोधनबेगर अघि बढाएमा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सरकार नियन्त्रित हुनेगरी विधेयक अगाडि बढाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संगठनले संशोधन बिनाको विधेयक मान्य नहुने स्पष्ट पारेको छ । संगठनका महासचिव रोहित दाहालले आज एउटा विज्ञप्ति जानकारी गर्दै विधेयकमा काउन्सिललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको शाखा बनाउन खोजेको बताएका छन् ।
‘संसद्मा छलफलमा रहेको मिडिया काउन्सिल विधेयक सरकार नियन्त्रित हुनेगरी अघि बढाइएकोमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विधेयक बिनासंशोधन अघि बढाए हामीलाई मान्य हुने छैन । विधेयकमा काउन्सिललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको एउटा शाखाजस्तो बनाउन खोजिएको छ’,विज्ञप्तिमा उल्लेख छ ।
मिडिया काउन्सिलजस्तो अर्धन्यायिक निकायलाई सरकारमातहत राख्न खोज्नु स्वतन्त्र प्रेसमाथि अंकुत लगाउने चालबाजी भएको ठहर्याउँदै संगठनले काउन्सिललाई सरकारको नियन्त्रणभन्दा बाहिर राख्न ध्यानाकर्षण गराएको छ । ‘मिडिया काउन्सिलजस्तो अर्धन्यायिक निकायलाई सरकारमातहत राख्न खोज्नु स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने चालबाजी भएको हाम्रो ठम्याई छ’,विज्ञप्तिमा अगाडि भनिएको छ,‘मिडिया काउन्सिल सरकारको नियन्त्रणभन्दा बाहिर रहनुपर्छ । विधेयक बिना संशोधन अघि बढ्यो भने समाजवादी प्रेस संगठन, नेपाल कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिन चाहन्छौं ।’
टिप्पणीहरू