बहादुर र बानियाँको लडाईले बागमतीमा लफडा

बहादुर र बानियाँको लडाईले बागमतीमा लफडा

संसदीय दलमा बहुमत गुमाएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पद नछोड्ने अडान लिएका छन् । 

नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा पराजित भएका उनले संविधानत: आफूले राजीनामा दिन नपर्ने दाबी गरेका हुन् । दिउँसो स्रम्पन्न संसदीय दलको निर्वाचनमा प्रदेश सभापतिसमेत रहेका इन्दबहादुर बानियाँ २२ मतसहित नेता निर्वाचित हुँदा मुख्यमन्त्री लामाले १४ भोट पाए । एक मत बदर भएको थियो ।

दलको नेताको हैसियता गुमाएपछि मुख्यमन्त्री लामामाथि नैतिक प्रश्न उठेको छ । तर, उनले भने गठबन्धन सरकारमा मुख्यमन्त्री बन्न दलको नेता हुनुनपर्ने तर्क अघि सार्दै पदबाट राजीनामा नदिने प्रष्ट पारेका हुन् ।

मत परिणाम सार्वजनिक भएलगत्तै सञ्चारकर्मीसँग उनले भने, ‘म संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्री बनेको हुँ, त्यसको लागि दलको नेता हुनैपर्छ भन्ने छैन, राजीनामा दिन्नँ ।’

उता दलको नेता चुनिएका बानियाँले भने लामाकाे अडान धेरै दिन नटिक्ने प्रतिक्रिया दिएका छन् । आफै मार्गप्रशस्त नगरे प्रक्रियाबाटै बिदाइ गरिने उनले बताए । 

‘उहाँ संसदीय दलको नेताको हैसियतले दुई दलको गठबन्धनबाट मुख्यमन्त्री हुनुभएको हो, अब त्यो हैसियत गुमेको अवस्था छ’, बानियाँले भने, ‘राजनीतिमा नैतिकता, इमान्दारिता, लोकतान्त्रिक परम्परा र परिपार्टी, जनता र पार्टीका साथीहरूको कुरालाई मान्नु भएन भने यो लोकतन्त्रको दुर्भाग्य कुरा हो, यसको लागि प्रक्रिया छ, धेरै लामो दिन जाँदैन, उहाँले नचाहेर हुँदैन, पद्धति र प्रक्रियाले सहज रूपमा उहाँलाई बिदाइ गर्छौं ।’  

तर, उनले चाहेजस्तो लामालाई हटाएर आफू मुख्यमन्त्री हुन् सहज भने छैन । किनभने संसदीय दलको नेताबाट हटे पनि लामाले अहिलेसम्म मुख्यमन्त्रीबाट विश्वास गुमाएका छैनन् । उनीविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पनि दर्ता भएको छैन । संविधानमा प्रधानमन्त्री/मुख्यमन्त्री नियुक्त भएको कम्तिमा दुई वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न नपाइने व्यवस्था छ ।

टिप्पणीहरू