जहाँ संघ–संस्थाको थुप्रो, त्यहीँ समस्याको चुली

जहाँ संघ–संस्थाको थुप्रो, त्यहीँ समस्याको चुली

लैंगिक तथा यौन हिंसाविरुद्ध, मानव बेचविखनको क्षेत्रमा काम गर्ने संघ–संस्था चितवनमा दर्जनौं छन् । तिनै संघ–संस्थाहरुबाट यौनजन्य हिंसाविरुद्धको साझा अभियानसमेत भनिएको छ । तैपनि यौनहिंसा तथा मानव बेचविखनसम्बन्धी समस्या चितवनमै विकराल छ, किन ?

यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनमा आबद्ध सम्पूर्ण संघ–संस्थाहरुको तर्फबाट आज अन्तर्राष्ट्रिय मानव बेचविखन विरुद्धको दिवसका सन्दर्भमा भरतपुरको सिएमटी होटलमा एउटा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको विषय ‘मानव बेचविखनको बदलिँदो अवस्था तथा रोकथामका लागि सरोकारवालाको भूमिका’ भनेर राखिएको थियो । 

विगतमा चितवन प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर गएका बहालवाला प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्लाको कुनै पनि स्थानीय तहका प्रमुखको भने सहभागीता देखिएन । प्रमुख अतिथिपछि जिल्लाका सातै पालिकाका उपप्रमुखहरुलाई विशिष्ट अतिथिको रुपमा मञ्चासन गराइयो ।

त्यसपछि प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरिएको थियो । अनि क्रमश: जिल्ला न्यायाधिवक्ता, प्रदेश प्रहरी प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई मञ्चमा डाकियो । २९ वटा वडा रहेको भरतपुर महानगरपालिकाको पनि १०, १२, २ र ७ का वडाअध्यक्ष मात्रै अतिथिको रुपमा निम्त्याइए । अरु पालिकाका वडाअध्यक्ष थिएनन् ।

मानव बेचविखन अनुसन्धान ब्युरो काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरमार्फत् कार्यपत्र प्रस्तुत गरियो । जसमा मानव बेचविखन, मानव ओसारपसार र मानव तस्करीलाई छुट्टाछुट्टै रुपमा परिभाषित गर्दै यो प्रायः संगठित अपराधको रुपमा देखिएको तर असंगठित रुपमा पनि मानव बेचविखन हुने गरेको उल्लेख थियो ।

‘यसमा लैंगिक हिंसा र घरेलु हिंसा पनि जोडिएको छ’ उनले भने, ‘यौन शोषण र श्रम शोषणको पनि कुरा छ ।’ महिला र बालबालिकामात्र नभई पुरुषहरु पनि पीडित रहेको कुँवरले बताए । अन्तरदेशी, क्षेत्रीय र राष्ट्रियस्तरमै मानव बेचविखन भइरहेको अवस्था छ । भारत, चीन लगायत एसिया र युरोपमा यहाँबाट विभिन्न रुपमा मानव बेचविखन भइरहेको उनले जनाए ।

वेश्यावृत्तिमा लगाइनुमात्र नभई वेश्यागमन गर्नु पनि मानव बेचविखनमै पर्ने एसपी नरेन्द्र बताउँछन् । अवैध अंग प्रत्यारोपण पनि मानव बेचविखनमा पर्दछ । मानव बेचविखन मुद्दामा सम्पत्ति शुद्धीकरणको अनुसन्धान पनि जोडिएको उनले जनाए ।

गत आर्थिक वर्षमा मानव बेचविखनका करिब डेढ–दुईसय मुद्दा दर्ता भएको उल्लेख उनले गरे ।     अर्का कार्यपत्र प्रस्तोता अधिवक्ता मदन थापाले मानव बेचविखनका घटना वर्षेनी हजारौं हजार भइरहेपनि केही सय मात्र मुद्दामा जाने गरेको अवस्था सुनाए ।

चितवनमा आव ०७९/०८० मा सात, ०८०/८१ मा एक र ०८१-८२ मा तीनवटा मुद्दा परेको तर दोषी प्रमाणित भई सजाय हुन भने नसकेको उनले जानकारी दिए । ‘वैदेशिक रोजगारीले पनि मानव बेचविखनलाई पुस गरेको छ’, अधिवक्ता मदनले भने । 

देशको मध्यभागमा अवस्थित चितवन जिल्ला मानव बेचविखनको सोर्स र ट्रान्जिट प्लेसको रुपमा देखिएको उनी बताउँछन् ।
 
प्रजिअ प्रकाश पौडेल भन्छन्, ‘चितवन सोर्स पनि हो, ट्रान्जिट पनि हो र डेस्टिनेसन पनि हो ।’ मानव बेचविखनको केस पर्ने रेट नै कम छ, त्यसमाथि पीडितहरु होस्टाइल भइदिने समस्या पनि रहेको जिल्ला न्यायाधिवक्ता रवि न्यौपानेले बताए । 

होटल–रेष्टुरेन्ट, डान्स बार, दोहोरी साँझ लगायतका मनोरञ्जन क्षेत्रमा रोजगारीको नाममा महिला तथा बालबालिकाहरुमाथि यौन र श्रम शोषणका घटना निकै भइरहेको सरोकारवाला बताउँछन् ।

कार्यक्रमकै बीचमा यसै क्षेत्रका विभिन्न पाँचवटा संस्थालाई सम्मान गरिएकै मौकामा कार्यपत्र प्रस्तोता एसपी र अधिवक्ता देखि लिएर बागमती प्रदेश प्रहरी र प्रमुख अतिथि रहेका प्रहरी महानिरीक्षक सम्मलाई सम्मानपत्र प्रदान गरिएको थियो । – अजय गोर्खाली

टिप्पणीहरू