‘घमण्डी विज्ञापन’ निरन्तर

‘घमण्डी विज्ञापन’ निरन्तर

विदेश अध्ययनका नाममा धन आर्जन गरेपछि एक कन्सल्टेन्सी सञ्चालक यज्ञविलास पौडेल उर्फ ’वाईबी’ को आक्रामक प्रचार शैलीले भरतपुर महानगरपालिकाको निर्देशनसमेत लत्याएको छ । शहरभरि टाँगिएका सेन्ट्रल कलेजका होर्डिङ बोर्ड र विज्ञापनहरूमा संस्थापक सञ्चालक वाईबीको ठूलो तस्बिर अझै नहटाएपछि अनेक टिकाटिप्पणी शुरु भएको छ ।

गत असार १९ गते महानगरले सञ्चालकको तस्बिरसहितका विज्ञापन १५ दिनभित्र हटाउन निर्देशन जारी गरेको थियो । तर तोकिएको समय बितिसक्दा पनि वाईबीले ‘कोट लगाएको’ आफ्नो तस्बिर यथावत् राखेपछि स्थानीयले अचम्म मानेका हुन् ।

शैक्षिक परामर्श संस्था सञ्चालनको नाममा भिसा प्रोसेसिङ, नक्कली कागजात बनाउने, जब ग्यारेन्टी गर्नेजस्ता गैरकानुनी काम गरेको उजुरीहरू बढेपछि चितवन प्रशासनले कन्सल्टेन्सी नियमनमा कडाइ गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिको कागजात अपूर्ण पाइएपछि संस्थालाई ‘बी ग्रेड’मा राखी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

सञ्चालकको फोटो राखेर प्रचार गर्नु अस्वाभाविक भएको महानगरप्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । विज्ञापन सामग्री हटाउने जिम्मा व्यवसायीले नै नलिएको खण्डमा महानगरले हटाई त्यसको खर्च असुल गर्ने चेतावनी पनि दिइएको उनले बताए ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमका अनुसार सञ्चालकको तस्बिरसहितको विज्ञापन छाप्न मिडियाहरूले पनि सावधानी अपनाउनुपर्ने आवश्यकता रहेको औंल्याए ।

वाईबी कन्सल्टेन्सीको मुख्य कार्यालय क्षेत्रपुरमा छ । जहाँ लायन्स चोक नजिकै भव्य भवन ठड्याइएको छ । भरतपुरको शहीद चोकदेखि सप्तगण्डकी चोकसम्म मात्रै पाँचवटा सम्पर्क कार्यालय सञ्चालनमा छन् ।

व्यावसायिक स्वतन्त्रताको नाममा स्थानीय सरकारको निर्देशन अटेर गर्नेलाई नियमन गर्ने प्रयास महानगर र प्रशासन दुवैको जिम्मेवारी हो । अब भरतपुर महानगरले कार्यान्वयनमा कति कठोरता देखाउँछ त्यो भने हेर्न बाँकी छ ।

टिप्पणीहरू