तातोपानी नाका सहज बनाउने सीमा नजिकै सहमति
नेपाल–चीनबीच तातोपानी नाका सहज बनाउने र चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्ब्त) मा अलपत्र परेका नेपालीको उद्धारका लागि समन्वय गर्ने सहमति भएको छ । सिजाङको सीमामा रहेको झाङ्मुस्थित चिनियाँ प्रशासनिक भवनमा भएको सीमा सुरक्षा बैठकमा क्रस बोर्डर अपराध नियन्त्रण, सीमामा अनुशासन कायम, निर्यात–आयातको सन्तुलन र जनस्तरको सम्बन्ध सुधार जस्ता विषयमा गम्भीर छलफल गरिएको बताइएको छ ।
सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा गएको नेपाली टोलीले नेपालले चाडपर्वको समय नजिकिँदै गर्दा आयातित सामानको कन्टेनर संख्या बढाउन, तातोपानीबाट निर्यात सुचारु गर्न, र कैलाश मानसरोवर यात्रामा नेपाली साझेदारी सुनिश्चित गर्न आग्रह गरेको जनाइएको छ ।
चिनियाँ अधिकारीहरुले सीमामा अवाञ्छित गतिविधि रोक्ने, सुरक्षामा थप कडाइ गर्ने र क्रस बोर्डर अपराध रोकथाममा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । नेपालबाट प्रजिअ थापा, एसपी रामेश्वर कार्की, सशस्त्र प्रहरीको टोली सहभागी थियो भने चीनतर्फबाट न्यालम काउन्टीका उच्च अधिकारी र सुरक्षाकर्मीहरु सहभागी थिए।
गत महिना रसुवागढी नाकामा आएको बाढीपछि अलपत्र परेका २०५ नेपालीको उद्धारमा चीनले गरेको सहयोगप्रति नेपालले धन्यवाद व्यक्त गर्दै तातोपानी नाकाबाट हाल भएको निर्यात ठप्पको अवस्थाबारे चिनियाँ पक्षलाई जानकारी गराइएको थियो ।
टिप्पणीहरू